चितवनको मुग्लिन बजारमा आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल सुरु हुँदैछ। चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइको संयुक्त आयोजनामा हुने महोत्सव पुस १५ गतेसम्म सञ्चालन हुनेछ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिए। उनका अनुसार महोत्सवमा ५० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् भने इच्छाकामनाका करिब १०० सुन्तला उत्पादक किसानले आफ्ना उत्पादनको प्रत्यक्ष लाभ लिन पाउनेछन्। महोत्सवले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ।
महोत्सव अवधिभर सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेतीसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। मुग्लिन बजार क्षेत्रमा आयोजना हुने यस महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार यस क्षेत्रका किसानले सुन्तला उत्पादनबाट वार्षिक रु नौ करोडदेखि रु १० करोडसम्मको कारोबार गर्दै आएका छन्। यहाँ उत्पादन हुने सुन्तला स्वादिष्ट भएकाले बजार अभावको समस्या नरहेको उनले बताए।
सुन्तलाका बगैँचा संरक्षण तथा नयाँ क्षेत्र विस्तारका लागि गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ। गाउँपालिका संरक्षक रहेको सुन्तला महोत्सव तथा फुड फेस्टिबलले इच्छाकामनाका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा पनि सहयोग पुग्ने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे।



उज्यालो खबर




