चितवनका संघ–संस्थामध्ये उद्योग वाणिज्य संघ चितवन (उवासंघ) सधैं चर्चा र चासोको केन्द्रमा रहँदै आएको छ। चितवनकै पुराना र प्रतिष्ठित संघमध्ये पर्ने उवासंघमा अवसर र चुनौती दुवै रहने भएकाले यहाँको नेतृत्व चयन प्रक्रिया हरेक पटक रोचक बन्दै आएको छ।
यही पुष २१ गते हुन गइरहेको उवासंघ चितवनको अधिवेशनका लागि हालसम्म दुई पक्षले प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुबेदीको प्यानल र संघका सल्लाहकार शिरिष पन्तको प्यानल सक्रिय रूपमा मत माग्ने अभियानमा छन्।
पछिल्लो समय उवासंघले निर्वाह गर्नुपर्ने कर्तव्य, अधिकार र भूमिकाबारे स्पष्ट र सशक्त धारणा राख्दै आएका शिरिष पन्त आम उद्योगी–व्यवसायीको ध्यान आकर्षित गर्न सफल भएका छन्। युवा जोश, जाँगर र स्पष्ट भिजनसहित अघि बढेका पन्त व्यवसायी समुदायको रोजाइमा पर्न थालेका छन्।
‘उद्योग वाणिज्य संघ चितवनको दशकौं लामो गर्विलो इतिहास छ,’ पन्त भन्छन्, ‘यसको गरिमा जोगाउँदै उद्योगी–व्यवसायीको हकहित सुनिश्चित गर्नकै लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।’ दुई दशकभन्दा बढी समय हार्डवेयर व्यवसायमा संलग्न पन्त पछिल्लो समय विद्युत व्यवसायमा पनि सक्रिय छन्। यही अनुभवका आधारमा उनलाई आसन्न अधिवेशनका लागि अध्यक्ष पदका बलिया उम्मेदवारका रूपमा हेरिएको छ।
व्यवसायीले वर्षौंदेखि भोग्दै आएका समस्या, लगानीमैत्री वातावरणको अभाव, सरोकारवाला निकायसँगको समन्वय तथा विगतका कमी–कमजोरी सुधार्न उद्योगी–व्यवसायीको सुझाव र सल्लाहअनुसार अघि बढ्ने पन्तको प्रतिबद्धता छ। जेन्जी पुस्ताको समय आएको उल्लेख गर्दै उनले चितवनको समग्र समृद्धि, लगानी प्रवर्द्धन र राज्यलाई नीतिगत दबाब दिन पनि आफ्नो उम्मेदवारी महत्त्वपूर्ण रहेको बताए।
उद्यमी–व्यवसायीसँग सहजै घुलमिल हुन सक्ने पन्त व्यवसायसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। पन्तको प्यानलबाट अध्यक्ष पदका उम्मेदवारका रूपमा होटल व्यवसायी संघ चितवन, हार्डवेयर व्यवसायी संघ, फेन्सी व्यवसायी संघलगायत विभिन्न संघ–संस्थाले शिरिष पन्तलाई समर्थन जनाएका छन्।
अन्य वाणिज्य तथा वस्तुगत संघ–संस्थाको पनि साथ पाउने विश्वास रहेको बताउँदै पन्तले यस विषयमा निरन्तर सल्लाह र छलफल भइरहेको जानकारी दिए। पन्त प्यानलबाट उपाध्यक्ष पदमा शङ्करप्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् भने सदस्य पदका उम्मेदवारसमेत अन्तिम टुंगो लागिसकेको पन्तको भनाइ छ।



उज्यालो खबर




