उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ। मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सुवेदी समूहले संघका विभिन्न पदाधिकारीको उम्मेदवारी सार्वजनिक गरेको हो।
सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्ष राजेन्द्र ओली उम्मेदवार बनेका छन् भने उपाध्यक्ष पदमा अशोक अधिकारी, नारायण प्रधान र राजन पियाले उम्मेदवारी दिने घोषणा गरेका छन्। संघको नयाँ नेतृत्व चयनका लागि पुस २१ गते निर्वाचन हुँदैछ।
अध्यक्षका उम्मेदवार सुवेदी पाँच पटक उद्योग वाणिज्य संघ चितवनको पदाधिकारी रहिसकेका छन्। उनले २०६० सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।
उम्मेदवारी घोषणा गर्दै सुवेदीले चितवनलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरे। आर्थिक शिथिलताबाट प्रभावित व्यवसायीलाई राहत दिन घरबेटीहरूसँग समन्वय गरी घरभाडा वृद्धि नगर्ने वातावरण बनाउने तथा घरभाडा कर घरबेटीले नै व्यहोर्नुपर्ने मान्यता स्थापित गर्न स्थानीय तह र सम्बन्धित निकायसँग पहल गर्ने उनको प्रतिबद्धता छ।
उनले हालै देखिएको सामाजिक तथा आर्थिक अस्थिरताले देशको निजी क्षेत्र, विशेषतः साना तथा मझौला उद्योग–व्यवसायमा गम्भीर असर पारेको उल्लेख गर्दै त्यसको समाधानका लागि निजी क्षेत्रको तर्फबाट सशक्त भूमिका खेल्ने बताए। साथै चितवनको कृषि, पर्यटन, स्वास्थ्य र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जनाए।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार राजेन्द्र ओली १४ वर्षदेखि संघमा सक्रिय छन्। उनले कार्यसमिति सदस्य, द्वितीय उपाध्यक्ष र प्रथम उपाध्यक्षको रूपमा अनुभव हासिल गरिसकेका छन्। उपाध्यक्षका उम्मेदवार अशोक अधिकारीले तीन कार्यकाल कार्यसमिति सदस्य तथा एक कार्यकाल द्वितीय उपाध्यक्षका रूपमा काम गरिसकेका छन्।
यसैगरी, उपाध्यक्षका अर्का उम्मेदवार नारायण प्रधान चार कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल तृतीय उपाध्यक्ष रहिसकेका छन् भने राजन पियाले कार्यसमिति सदस्यको रूपमा संघमा योगदान दिइसकेका छन्।
संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। जसअन्तर्गत ५ जना पदाधिकारीसहित उद्योग र वाणिज्यतर्फ ६–६ जना, वस्तुगततर्फ ४ जना, महिला १ जना, एसोसिएटतर्फ २ जना तथा क्षेत्रीय सदस्य १ जना निर्वाचित हुनेछन्। साथै ३ जना सदस्य र ४ जना विशिष्ट सदस्य मनोनीत हुने व्यवस्था रहेको छ।



उज्यालो खबर




