×

चितवन – क्रिसमस पर्वको अवसर पारेर ल्याण्डमार्क होटल एन्ड रिसोर्ट ग्रुपले चितवनस्थित ल्याण्डमार्क फरेस्ट पार्कमार्फत आकर्षक पर्व–प्याकेज सार्वजनिक गरेको छ। प्रकृतिको काखमा अवस्थित होटलमा पाहुनालाई फरक र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले यो अफर ल्याइएको हो।

ल्याण्डमार्क होटल एन्ड रिसोर्ट ग्रुपका सीओओ बोधराज लम्सालका अनुसार, चाडपर्वको समयमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न र किफायती प्याकेज तयार गरिएको हो। “क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई परिवार, साथीभाइ तथा समूहसँग प्रकृतिको नजिक बसेर रमाइलो रूपमा मनाउन सकून् भन्ने हाम्रो उद्देश्य हो,” उनले बताए।

होटलले सार्वजनिक गरेको प्याकेजमा डिलक्स, कुटेज तथा भिल्लामा एक रातको बसाइ, स्थानीय मह (हनी)बाट तयार गरिएको स्वागत पेय, साँझको हाई–टि (चिया/कफी तथा कुकीज), हल्का संगीतसहितको क्याम्पफायर, तथा बार्बेक्युसहितको विशेष क्रिसमस इभिनिङ डिनर बुफे समावेश गरिएको छ।

त्यसैगरी, क्रिसमस ब्रेकफास्ट बुफे, प्रत्येक पाहुनाका लागि क्रिसमस स्पेशल केक स्लाइस, उपलब्धताका आधारमा अर्ली चेक–इन, साथै पेय पदार्थमा १० प्रतिशत छुट र सफारी बुकिङमा १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ।

सीओओ लम्सालका अनुसार यो प्याकेज सेयरिङ आधारमा प्रति व्यक्ति ४,५०० रुपैयाँ र सिंगलका लागि ६,००० रुपैयाँमा उपलब्ध छ। साथै, १५ जना वा सोभन्दा बढी समूहका लागि आवश्यकताअनुसार कस्टमाइज्ड ग्रुप प्याकेजको सुविधा पनि प्रदान गरिनेछ।

चितवन राष्ट्रिय निकुञ्जको छेउमै अवस्थित ल्याण्डमार्क फरेस्ट पार्क प्राकृतिक सौन्दर्य, शान्त वातावरण र गुणस्तरीय आतिथ्य सेवाका लागि परिचित छ। पर्वको अवसरमा ल्याइएको यो अफरले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने सीओओ लम्सालको विश्वास छ।

होटल व्यवस्थापनले सीमित सिट रहेकाले समयमै बुकिङ गर्न इच्छुक पाहुनालाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया