×

गैंडाकोट- गैंडाकोट नगरपालिका–७ मा लागुऔषध कारोबारमा संलग्न एक युवकलाई प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले २८ वर्षीय सुरज भट्टराईलाई १ केजी गाँजा जस्तो देखिने लागुऔषध तथा सयौँ क्याप्सुल औषधिजन्य लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार भट्टराईले लामो समयदेखि लागुऔषध लुकाइछिपाई राखी बिक्री वितरण गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा विशेष अपरेसन सञ्चालन गरिएको थियो। सोही क्रममा आज दिउसो गैंडाकोट–७ स्थित उनको बसोबास क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमाण्डमा खटिएको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ तथा खानतलासी गर्दा उनले परालको टौवाभित्र लुकाइछिपाई राखेको अवस्थामा विभिन्न प्रकारका लागुऔषध फेला पारेको थियो। प्रहरीका अनुसार उक्त स्थानबाट नगद रकमसमेत बरामद गरिएको छ, जसको विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।

प्रहरीले बरामद गरेको लागुऔषधमा Tramol–५० का ३७० क्याप्सुल, Anargan–२५ का २७० क्याप्सुल, Vomine–२५ का १०० क्याप्सुल र गाँजा जस्तो देखिने लागुऔषध १ केजी रहेको छ।प्रहरीका अनुसार पछिल्लो समय गैंडाकोट र आसपासका क्षेत्रमा लागुऔषध दुर्व्यसन तथा अवैध कारोबार बढ्दै गएको गुनासोपछि निगरानीलाई तीव्र बनाइएको छ।

पक्राउ परेका सुरज भट्टराईमाथि लागुऔषध सम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्ति तथा सञ्जालबारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लागुऔषधको अवैध कारोबारले समाज, विशेषगरी युवापुस्तामा गम्भीर सामाजिक तथा स्वास्थ्य समस्या सिर्जना गरिरहेको भन्दै प्रहरीले यस्ता गतिविधिविरुद्ध निरन्तर अभियान जारी राखिने जनाएको छ। साथै, शंकास्पद गतिविधिबारे जानकारी दिन स्थानीयवासीलाई पनि आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया