×

देवचुली – देवचुली नगरपालिका–१ केउरनीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा गैडाकोटका एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

अन्दाजी ६:४५ बजेतिर दलदलेबाट अमरापुरीतर्फ जाँदै गरेको प्र.३–०३–००१ प ८७३३ नम्बरको मोटरसाइकल सडक निर्माणका क्रममा डाइभर्सनका लागि राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका–१४, अमरापुरीका ३२ वर्षीय जिवन क्षेत्री गम्भीर घाइते भएका थिए। देवचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि नयाँ मेडिकल कलेज पठाइएकामा उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

सोही मोटरसाइकलमा पछाडि सवार ३७ वर्षीय शंकर क्षेत्री दुबै खुट्टामा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि नयाँ मेडिकल कलेजमै पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया