×

नवलपुर- नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशको आयोजनामा विनयी त्रिवेणी गाउँपालिका–४, दीपेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आज बृहत् विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय बासिन्दालाई लक्षित गरी गरिएको उक्त शिविरमा करिब ६०० भन्दा बढी नागरिकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्।

कार्यक्रम उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि नवलपुर संघीय निर्वाचन क्षेत्र–२ का निवर्तमान सांसद माननीय विष्णु कुमार कार्की तथा विशेष अतिथि गण्डकी प्रदेशका माननीय लक्ष्मण बहादुर पाण्डे सहित स्थानीय राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिविरमार्फत नागरिकलाई निष्ठापूर्वक सेवा प्रदान गरिएको बताउँदै अध्यक्ष अमृत भट्टचनले भने, “स्वास्थ्य सेवा सबैको आधारभूत अधिकार हो। ग्रामीण क्षेत्रका नागरिकले सहज रूपमा स्वास्थ्य सुविधा पाउन सकून् भन्ने उद्देश्यले उद्योग वाणिज्य सङ्घले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। समुदायको स्वास्थ्य सुधारमा हाम्रो सानो प्रयासले ठूलो प्रभाव पारोस् भन्ने अपेक्षा छ।”

आयोजक संघका अनुसार भविष्यमा पनि समुदायकेन्द्रित स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिइनेछ।

तपाईको प्रतिक्रिया