नवलपुर – जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण दुई महिनाभन्दा बढी समयदेखि अवरुद्ध मौलाकाली केबलकार अब पुनः सञ्चालनमा आउने भएको छ। मौलाकाली केबलकार प्रालिले एक सूचना जारी गर्दै आवश्यक सबै प्राविधिक परीक्षण तथा मर्मत कार्य पूरा भएको हुँदा आउँदो शनिबारदेखि सर्वसाधारणका लागि केबलकार नियमित रूपमा सञ्चालनमा ल्याइने जानकारी दिएको छ।
गैँडाकोटस्थित मौलाकाली मन्दिरको मुख्य आकर्षण मानिने यो केबलकारका क्षतिग्रस्त उपकरणहरूको विस्तृत परीक्षण तथा मर्मतका लागि अष्ट्रियाबाट विशेष प्राविधिक टोली बोलाइएको थियो। एक सातासम्म चलेको परीक्षणपछि प्रत्येक उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मत सम्पन्न गरिएको स्टेशन म्यानेजर सुरज पौडेलले बताए।
उनका अनुसार केबलकार आन्तरिकरूपमा चलाएर अन्तिम परीक्षण भइरहेको छ। “सम्पूर्ण सिस्टम स्थिर र सुरक्षित रूपमा कार्यरत रहेको पुष्टि भएकाले अब शनिबारदेखि केबलकार पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ,” पौडेलले बताए। उनले यात्रु तथा दर्शनार्थीलाई ढुक्क भएर यात्रा गर्न सकिने पनि जानकारी दिए।
आगजनी तथा तोडफोडका कारण केबलकार संरचना र उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको कम्पनीले जनाएको छ। सेवा अवरुद्ध भएपछि मौलाकाली मन्दिरमा आउने भक्तजनको संख्या कमी हुँदै गएको थियो भने टप–स्टेशनमा रहेको प्रसिद्ध इला होटलको व्यवसाय पनि प्रभावमा परेको थियो।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार केबलकार पुनः सञ्चालनमा आएपछि गैँडाकोट क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन गतिविधि फेरि चहलपहलमा फर्कने अपेक्षा गरिएको छ।





















उज्यालो खबर










