×

काठमाडौं । लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।पहिलो संस्करणमा एक खेल मात्र जितेर अन्तिममा रहेको लुम्बिनीले यस संस्करणमा भने पहिलो खेलमै जित हात पार्दै सुखद सुरुवात गरेको छ ।

पहिलो संस्करणमा चितवन राइनोजलाई मात्रै हराउन सफल लुम्बिनीले दोस्रो संस्करणको पहिलो खेलमै चितवनलाई नै हराएको हो ।चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर ४६ रन बनाउँदै पूरा गरेको हो ।

लुम्बिनीका लागि गुल्बादिन नइबले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । उनले २३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।यस्तै कप्तान रोहित पौडेलले ३९ रन योगदान गरे । ४४ बल खेलेका उनले १ चौका प्रहार गरे ।यस्तै ओपनिङमा आएका सन्दीप जोराले १८ बल खेल्दै ४ छक्का मद्दतमा २८ रन जोडे ।

अष्ट्रेलियन खेलाडी डार्शी सट ११ रन बनाएर आउट भए ।बलिङमा चितवनका रिजन ढकालले २ विकेट लिए ।त्यसअघि रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको थियो ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।

बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्स विरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडे ।सैफ जैबले १५, देव खनालले १५ र दिपक बोहरा १० रन बनाएर आउट भए ।

बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । गुल्बादिन नइबले ४ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा भने लुम्बिनिसँग पराजित भयो ।

तपाईको प्रतिक्रिया