×

चितवन – बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरूण पौडेल आज जिल्ला प्रहरी कार्यालय चितवन पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन प्रदान गरेका छन्।

निर्देशनक्रममा डीआईजी पौडेलले चितवन प्रहरीले “प्रभावकारी सुरक्षा व्यवस्था, नागरिकमैत्री सेवा र अपराध नियन्त्रण” लाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। उहाँले अपराधको रोकथाम, घटनाको छिटो तथा वैज्ञानिक अनुसन्धान, जनविश्वास अभिवृद्धि र संगठनको छविलाई सदैव उच्च राख्न प्रत्येक प्रहरी कर्मचारीले आफ्नो पदीय दायित्व प्रति इमानदार रहनुपर्ने निर्देशन दिएका थिए।

कार्यक्रमका क्रममा ३० वर्षे सेवाअवधि पूरा गरी अनिवार्य अवकाश प्राप्त गर्न लाग्नुभएका पूर्व प्रहरी नायब निरीक्षक अर्जुन प्रसाद भुषाल र दिलकुमारी काफ्लेलाई प्रहरी संगठनको तर्फबाट सम्मानपूर्वक बिदाइ गरिएको थियो। लामो सेवाकालमा संगठनका लागि पुर्‍याएको योगदानप्रति कदर गर्दै दुवै जना पूर्व अधिकृतलाई अवकाश पत्र, कदर पत्र, मायाको चिनो, माला र फोटो फ्रेम प्रदान गरिएको थियो।

उहाँहरूको समृद्ध, सम्मानजनक र सुखमय अवकाश जीवनको शुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा मातहत इकाइका प्रहरी कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया