गैंडाकोट- गैंडाकोट जेसीजको नवनिर्मित भवनको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। गैंडाकोट–७ गैरीमा निर्माण गरिएको भवनको उद्घाटन गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले प्रमुख अतिथिको रूपमा गरेका हुन्।
गैंडाकोट जेसीज वर्ष २०२५ का अध्यक्ष हरि पौडेलका अनुसार भवन निर्माण सम्पन्न भएसँगै संस्थाको गतिविधि अझ प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले भवन निर्माणको सुरुआतदेखि नै आफू अवलोकनमा रहेको उल्लेख गर्दै जेसीजले नेतृत्व र व्यक्तित्व विकासतर्फ अझ सशक्त रूपमा अगाडि बढ्न सुझाव दिए।नगर उपप्रमुख शान्ति कोइरालाले भवन नहुँदा गर्न नपाएका कार्यक्रमहरू अब सफलतापूर्वक सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरिन्।
त्यसैगरी, प्रमुख प्रशासनिक अधिकृत रामचन्द्र लामगादेले सरकारी सेवामा जहाँ रहे पनि जेसीजसँग आफू नजिक रहेको भन्दै गैंडाकोटमा समेत संयुक्त रूपमा काम गर्न पाउँदा खुशी लागेको बताए।
गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले संस्थाको स्थापना, जग्गा प्राप्ति र भवन निर्माणका क्रममा भोगेका चुनौतीहरू स्मरण गर्दै जेसीजको गरिमा कायम राख्न सदस्यहरूलाई आग्रह गरे। नेपाल जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटाले आफू जेसीजमा लाग्न प्रेरित बनाउने स्रोत नै गैंडाकोट जेसीज भएको उल्लेख गर्दै आगामी दिवसमा पनि सहयोग र साथ रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा गैंडाकोट जेसीजका पूर्व अध्यक्ष सुशील काफ्ले, वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष तारा त्रिपाठी, माडी जेसीजका अध्यक्ष इश्वर रानाभाट, स्थानीय महिला समूह, टोल विकास संस्था तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएका थिए।
सो अवसरमा अध्यक्ष पौडेलले जेसीज सप्ताहअन्तर्गत सञ्चालन गरिने कार्यक्रमहरूको जानकारी पनि गराए। तीमध्ये मौलाकालिका प्रवेशद्वारमा स्वागत बोर्ड स्थापना, स्वास्थ्य शिविर, महेन्द्र स्मारक विद्यालयमा पिङ हस्तान्तरण, नारायणी मावि गैंडाकोट–७ मा शैक्षिक सामग्री वितरण, शिवालय मन्दिर सरसफाइ तथा वृक्षारोपणलगायतका गतिविधि समावेश छन्।
कार्यक्रममा गैंडाकोट जेसीजका पूर्व अध्यक्षहरू, वर्ष २०२५ का पदाधिकारी तथा सदस्यहरूसहित स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रम कार्यकारिणी उपाध्यक्ष रमेश कोइरालाको संयोजन र महासचिव मदन सापकोटाको सहजीकरणमा सम्पन्न भएको हो।





















उज्यालो खबर

















