×

काठमाडौं । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले बताए ।उनले भने, ‘पदाधिकारी बैठकले सर्वसम्मत निर्णय गरेका छौँ । अब आवश्यक निर्णयार्थ केन्द्रीय कमिटीमा पेश हुनेछ ।

बैठकपछि कडरियाले आफ्नो राजीनामा स्वीकृत गरेको भन्दै धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्, ‘आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तीता-मीठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएका छन् । मैले कसैप्रति जानअन्जानमा कुनै गल्ती वा कडा व्यवहार गरेको छु भने हृदयदेखि क्षमा प्रार्थी छु । मेरा अनुभव, संघर्ष र उतार चढावहरू यही यात्रासँगै टुंगिएका छन् । अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ प्रवेश गर्दै, नेकपा एमालेको एक इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहने प्रतिज्ञा गर्दछु ।’

कडरियाले अध्यक्ष धामीलगायत नयाँ जिम्मेवारी पाएका नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले थपेका छन्, ‘भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु । यससँगै, विद्यार्थीको हक(हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको छ ।’

तपाईको प्रतिक्रिया