×


काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा ‘नागरिक बचाउ दल’ नामक नयाँ राजनीतिक दल गठन गरिएको छ। दल दर्ताका लागि निवेदन निर्वाचन आयोगमा पुगेको छ। आयोगमा दर्ता गरिएको निवेदनअनुसार पार्टीको नेतृत्वमा माधव खतिवडा रहेका छन्।

प्रसाईंले केही समयदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका थिए। सोही अभियानसँग मिल्दोजुल्दो नाममा नयाँ राजनीतिक दल गठन गरिएको बताइएको छ।नयाँ पार्टीका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्।

यसपटक दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो। भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला हुनेछ। मंसिर १० गतेभित्र दल दर्ताको प्रमाणपत्र पाए उम्मेदवारले आगामी चुनावमा भाग लिन सक्ने आयोगले बताउँदै आएको छ।प्रतिनिधि सभा निर्वाचन फागुन २१ गतेका लागि तय भएको छ।

उता, दुर्गा प्रसाईं हाल पनि सरकारसँग विभिन्न माग राख्दै अभियानमै सक्रिय छन्। सरकारले उनीलाई चुनावमा आएर जनताको म्यान्डेट लिन आग्रह गर्दै आएको छ। यही कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग गरेको छलफलमा झापामा पुराना नेताहरू कमजोर देखिएको र प्रसाईं चुनावी प्रतिस्पर्धामा आउन सक्ने सम्भावना रहेको टिप्पणीसमेत गरेकी थिइन्।

तपाईको प्रतिक्रिया