चितवन- जेनजी पुस्ताको प्रदर्शनका क्रममा चितवनका विभिन्न स्थानीय तहमा भएको तोडफोड र आगजनीमा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको संलग्नता भेटिएको छ। प्रहरीले घटनामा सहभागी केही व्यक्तिहरू विगतमा लागुऔषध, चोरीदेखि ज्यान मार्ने उद्योगसम्मका मुद्दामा सजाय भोगिसकेको खुलाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार २८ जनालाई नियन्त्रणमा लिइएको छ। तीमध्ये १६ जना प्रहरी हिरासतमा छन् भने १२ जना हाजिरी जमानीमा रिहा भएका छन्। उनीहरू सबैविरुद्ध विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
पक्राउ परेकामध्ये एक व्यक्तिले यसअघि ज्यान मार्ने उद्योगमा तीन वर्ष जेल सजाय भोगिसकेको र त्यसअघि लागुऔषध र अभद्र व्यवहारका मुद्दामा समेत थुनामा बसेको पाइएको प्रहरीले जनाएको छ। उनलाई भाटभटेनी सुपरमार्केट परिसरको एटिएम फुटाएको तथा विभिन्न सरकारी कार्यालय तोडफोड गरेको भिडियो प्रमाणका आधारमा पक्राउ गरिएको हो।
अन्य ६ जना पनि चोरी, लागुऔषध र अभद्र व्यवहारसँग सम्बन्धित मुद्दामा सजाय भोगेकै व्यक्तिहरू रहेको प्रहरीले पुष्टि गरेको छ।
एसपी पुरीका अनुसार पक्राउ परेकामध्ये केहीले सुरक्षाकर्मीको हतियार खोस्ने, चोर्ने, तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने काम गरेका थिए। अनुसन्धान जारी भएकाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।
प्रहरीले प्राप्त फोटो, भिडियो र अन्य प्रमाणका आधारमा थप संलग्न व्यक्तिहरूको पहिचान गर्दै अनुसन्धान विस्तार गरिरहेको जनाएको छ। “केही व्यक्तिहरू फरार छन्। अनुसन्धान लामो समय लाग्न सक्छ तर दोषी उम्कन सक्दैन,” एसपी पुरीले भने।
भदौ २४ को घटनामा माडी नगरपालिका बाहेक चितवनका सबै स्थानीय तहमा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको थियो।
भरतपुरमा जिल्ला प्रशासन कार्यालय, अदालत, सरकारी वकिलको कार्यालय, मालपोत, राजश्व, यातायात, ट्राफिक प्रहरीदेखि लिएर वडा कार्यालयसम्म तोडफोड र आगजनी भएको थियो।
रत्ननगर, खैरहनी, राप्ती, कालिका र इच्छाकामना क्षेत्रमा पनि अधिकांश सरकारी कार्यालय निसाना बनेका थिए।
आन्दोलनकारीहरूले भाटभटेनी सुपरमार्केट, विभिन्न बैंकका एटिएम, एफएम स्टेशन, राजनीतिक दलका कार्यालय र प्रमुख नेताहरूको निवाससम्ममा क्षति पुर्याएका थिए।
घटनापछि सरकारी कार्यालय, स्थानीय तह र घरधनीहरूले तोडफोड र आगजनीमा संलग्नहरूविरुद्ध उजुरी दर्ता गरिरहेका छन्। प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध अपराधिक उपद्रव, अभद्र व्यवहार, चोरी, लागुऔषधलगायत मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ।
यसबाहेक, जेनजी आन्दोलनपछि समाजमा आतंक फैलाउने, हातहतियार बोकेर हिँड्ने र मोटरसाइकल परिवर्तन गरी ठूलो आवाज निकालेर डरत्रास फैलाउने ११ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
तिहारयता ६१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको र ३ जना वर्कसप संचालकलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ।





















उज्यालो खबर

















