×

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। असोज मसान्तसम्म बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशतले वृद्धि भएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा वृद्धि भएको बैंकले जनाएको छ।

असोज मसान्तसम्म बैंकले ६१ करोड ७६ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ भन्दा उल्लेख्य वृद्धि हो। त्यस्तै, बैंकको सञ्चालन नाफा २८ करोड ४६ लाख २८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ थियो।

बैंकको खुद फि एण्ड कमिसन आम्दानी ८ करोड ४४ लाख २१ हजार रुपैयाँ र वितरणयोग्य नाफा १३ करोड ५२ लाख २१ हजार रुपैयाँ रहेको छ। यस आधारमा सेयरधनीलाई १४.०१ रुपैयाँ लाभांश दिने क्षमता रहेको बैंकले जनाएको छ।

कामना सेवा विकास बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँ, जगेडा कोष १ अर्ब ८८ करोड ५१ लाख ४६ हजार रुपैयाँ, निक्षेप संकलन ६३ अर्ब ४ करोड ७ लाख ३ हजार रुपैयाँ, र कर्जा प्रवाह ५१ अर्ब ४४ करोड ९० लाख २६ हजार रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म बैंकको प्रति सेयर आम्दानी (EPS) २०.४६ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५२.३१ रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको निष्कृय कर्जा (NPL) ४.४१ प्रतिशत पुगेको छ, जुन गत वर्षको ३.९६ प्रतिशत भन्दा केही उच्च हो।

तपाईको प्रतिक्रिया