×

लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा हानिएको छ । लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको उनले बताएका छन् ।पाण्डेका अनुसार उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य हो ।’

चौतारीले भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिएको र त्यसको पछिल्लो कडीका रूपमा यो घटना भएको दाबी गरेको छ । महासचिव हिरामान लामाले विज्ञप्तिमा यो घटना योजनाबद्ध र षड्यन्त्रपूर्वक भन्दै अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल नहुने उल्लेख गरेका छन् ।घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई कानूनी कठघरामा उभ्याउन सम्बन्धित निकायसँग चौतारीले माग गरेको छ ।

तपाईको प्रतिक्रिया