×

चितवन-  चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) माथि भएको आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई गएराति करिब १ बजे मुग्लिनबाट नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको पहिचान हालका लागि सार्वजनिक गरिएको छैन। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र पहिचान खुलाइने जनाइएको छ।

भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको ‘पपुलर शैलुन’ का सञ्चालक सिग्देललाई बिहीबार अपराह्न अपरिचित समूहले आक्रमण गरेको थियो। काम सकेर घर फर्कने क्रममा सिग्देलमाथि तीन जनाको समूहले पार्किङ क्षेत्रमा हमला गरेको थियो।

सिसीटिभी फुटेजअनुसार ती व्यक्तिहरू सिजी ल्याण्डमार्कको प्रवेशद्वारमा पहिल्यै पर्खेर बसेका थिए र सिग्देल देख्नासाथ मोटरसाइकलको हेलमेट प्रयोग गरी आक्रमण गरेका थिए। मलका सुरक्षा गार्ड पुगेपछि आक्रमणकारी भागेको दृश्य पनि फुटेजमा देखिन्छ।

घटनापछि करिब १० घण्टाभित्रै आक्रमणमा संलग्न तीनै जनालाई पक्राउ गर्न चितवन प्रहरी सफल भएको हो।

आक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ। उनको हाल भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। केही साताअघि पनि उनीमाथि सिजी मलमै आक्रमण भएको थियो।

तपाईको प्रतिक्रिया