लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युकेको छैठौं अधिवेशन घोषणा सभा तथा विविध सांस्कृतिक कार्यक्रम लन्डनको ट्रामसेड हलमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सञ्जयभक्त कँडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बेलायतका लागि नेपाली कार्यबाहक राजदूत बिपिन दुवाडी उपस्थित रहनुभएको थियो ।
सो अवसरमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष कुल आचार्य, एनआरएन यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, सामाजिक अभियन्ता डा. बच्चु कैलाश कैनी, वरिष्ठ पत्रकार भगिरथ योगी, चलचित्रकर्मी, कलाकार, सामाजिक अभियन्ता, निर्देशक, भाषा विज्ञ, सस्कृति तथा खेलकुद प्रेमीहरू सहित उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको औपचारिक सुरुवात राष्ट्रिय गान र दीप प्रज्वलनसहित गरिएको थियो । उद्घाटन सत्रपछि संस्थाको २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको र विविध सांस्कृतिक प्रस्तुतिहरू पनि गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युकेको छैठौं कार्यकालका लागि सञ्जयभक्त कँडेल पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा दिपक थापा र सबिना श्रेष्ठ, महासचिवमा लालमणी भट्टराई, सचिवमा दिपबहादुर गिरी, कोषाध्यक्षमा अनिष पाण्डे, सह–कोषाध्यक्षमा अमृता पाण्डे, ग्लोबल प्रतिनिधि सर्वेन्द्र अधिकारी, कार्यक्रम संयोजक सिदार्थ विक्रम क्षेत्री, प्रवक्ता विज्ञान कार्की र केन्द्रीय सदस्यमा शैलेन्द्र राई, शत्रुधन शाह, रेनुका श्रेष्ठ र सुन्दर पण्डित चयन भएका छन् ।
निर्वाचन समितिको संयोजनमा सम्पन्न निर्वाचनपछि नयाँ पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
कार्यक्रमका क्रममा साहित्य, खेलकुद, गायन, अभिनय, नृत्य तथा सामाजिक सेवामा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो ।
सांस्कृतिक प्रस्तुतिको संयोजन उपाध्यक्ष सबिना श्रेष्ठले गर्नुभएको थियो । सोही अवसरमा उत्कृष्ट कार्यका लागि उहाँलाई सम्मान पनि गरिएको थियो ।
त्यसैगरी संस्थापक मनिष श्रेष्ठलाई पनि नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक राजदूत बिपिन दुवाडीले नयाँ कार्यसमितिलाई बधाई दिँदै ईनासले प्रवासी भूमिमा नेपाली कला, भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पुर्याइरहेको योगदानको प्रशंसा गर्नुभयो ।
समापन सत्रमा नव–निर्वाचित अध्यक्ष सञ्जयभक्त कँडेलले सबै अतिथि, सदस्य र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थालाई अझ सशक्त, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । उपस्थित कलाकार, साहित्यकार र अतिथिहरूले यसलाई सफल र ऐतिहासिक घोषणा सभाको रूपमा सराहना गरेका थिए ।
कार्यक्रमको औपचारिक सञ्चालन सचिव दिप गिरीले र सांगीतिक सञ्चालन गायक राजेश बर्देवा यांनी गर्नुभएको थियो ।





















उज्यालो खबर

















