गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको मौलाकाली केबुलकारको बटम (तल्लो) स्टेसनमा जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट झन्डै ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
गत भदौ २४ गते साँझ गैँडाकोट नगरपालिका–१ स्थित बटम स्टेसनमा प्रदर्शनकारीले आक्रमण गरी स्टेसनमा तोडफोड तथा आगजनी गरेका थिए। आगजनीबाट क्षति पुगेको स्टेसन अहिले मर्मतको चरणमा रहेको स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए।
‘स्टेसनमा अहिले टायल, मार्बल र रङरोगनको काम भैरहेको छ,’ उनले भने, ‘आगजनीका कारण जलेर नष्ट भएका केबुल र सेन्सर प्रणाली पुनःस्थापनाको तयारी भइरहेको छ।’
उनका अनुसार केबुलकारको मुख्य प्रणालीमा आगो लाग्दा महत्वपूर्ण केबुल, सेन्सरलगायतका भाग जलेका थिए। बाहिरबाट झट्ट हेर्दा सामान्य क्षति भएको जस्तो देखिए पनि भित्रका उपकरणहरु नष्ट भएकाले झन्डै ७० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।
अस्ट्रियाबाट प्राविधिक टोली र आवश्यक सामान आउन बाँकी भएकाले सञ्चालनमा ढिलाइ भएको पौडेलले बताए। उनका अनुसार कात्तिक १३ /१४ गतेतिर प्राविधिकहरू आउने र निरीक्षणपछि नयाँ उपकरण फेरेर केबुलकार पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
पौडेलका अनुसार आगजनीका क्रममा प्रदर्शनकारीहरूले टिकट काउन्टर, स्टेसन इन्चार्जको कार्यालय, क्याफे, कन्ट्रोल रुमलगायत क्षेत्रमा आगो लगाएका थिए।
“साढे ६ बजेतिर एक हुल मानिस आएर अगाडि पार्क गरिएका गाडी र जेनेरेटरमा आगो लगाए, सिसा फुटाए र भित्र पस्दै तोडफोड गर्न थाले,” उनले स्मरण गरे, “त्यो बेला प्रहरी आउन नसक्ने अवस्था थियो, को आगो लगाउने हो, को रमिते हो, थाहा नहुने स्थिति थियो।”
उनका अनुसार आगजनी करिब साढे तीन घण्टासम्म जारी रह्यो। स्टेसनका कर्मचारीहरूले अन्ततः आफैंले पानी हालेर आगो निभाएका थिए।
पवित्र धार्मिकस्थल मौलाकाली मन्दिर जाने भक्तजनमध्ये करिब ५० प्रतिशतले केबुलकार प्रयोग गर्ने गरेका छन्। दशैं–तिहारका समयमा यात्रुको भीड अत्यधिक हुने भएकाले यही समयमा केबुलकार बन्द हुँदा ठूलो आर्थिक क्षति पुगेको पौडेलले बताए।
गत वर्ष यही समयमा करिब ६० हजारभन्दा बढी यात्रु केबुलकारमार्ग हुँदै मन्दिर पुगेका थिए। केबुलकार बन्द भएपछि आसपासका होटल व्यवसायमा समेत असर परेको छ। होटलहरूको अकुपेन्सी दर घटेको छ भने केबुलकार र होटलमा कार्यरत १ सयभन्दा बढी स्थानीय श्रमिकहरू बेरोजगार भएका छन्।
मौलाकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार, केबुलकार सञ्चालनमा आएपछि मन्दिरमा आउने भक्तजनको संख्या करिब ३० प्रतिशतले बढेको थियो।
२०८० वैशाख १८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको मौलाकाली केबुलकारमा पहिलो वर्षमा २ लाख ७० हजार, र दोस्रो वर्षमा २ लाख ३५ हजार यात्रुले यात्रा गरेका थिए।





















उज्यालो खबर

















