×

काठमाडौं – नेकपा (एमाले) को ११ औं महाधिवेशन मंसिरको अन्तिम हप्ता गर्ने भएको छ। आइतबार बसेको सचिवालयको ५८ औं बैठकले एमालेको ११ औं महाधिवेशन मंसिर अन्तिम हप्ता गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्नेछ। केन्द्रीय कमिटी बैठक यही असोज २९, ३०, ३१ गते बस्दैछ।

एमालेको १० औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो। चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र सौराहा भएको थियो।

मौजुदा केन्द्रीय कमिटीको कार्यकाल पाँच वर्षका लागि भए पनि एमालेले एक वर्षअगावै महाधिवेशन गर्न लागेको हो।

एमालेले दोस्रो विधान महाधिवेशन गरेर नीति र विधान तय गरिसकेको छ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा भएको थियो। एमालेको ११ औं महाधिवेशन नेतृत्व महाधिवेशन हो। यसले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

तपाईको प्रतिक्रिया