×

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् ।चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री कार्की बिहीबार अपरान्ह अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएकी थिइन् ।‘राष्ट्रपतिले भयरहित ढंगल चुनाव हुने वातावरण तय गर्नका लागि सबैलाई विश्वस्त पार्न सरकारलाई सुझाव दिनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।

भेटमा संलग्न सञ्चारमन्त्री खरेलका अनुसार चुनावका लागि सरकार र निर्वाचन आयोगले गरिरहेका कामहरुकैबारे छलफल भएको छ । ‘सरकार, राजनीतिक दल, जेनजी लगायत सबै चुनाव समयमै हुने कुरामा स्पष्ट भएर जानुपर्छ भन्ने राष्ट्रपतिको सुझाव सरकारले ग्रहण गरेको छ,’ खरेलले भने, ‘चुनाव समयमा गर्ने कुरामा राष्ट्रपतिको पनि स्पष्ट धारणा छ । त्यसैले मुलुकका सबैको मिसन चुनाव मात्रै हो त्यही तर्फ सबैको ध्यान हुनुपर्छ भन्ने छ ।’

सरकार बनेको करिब तीन महिना बितिसकेको छ । तर यो बीचमा राजनीतिक दलहरूसँग सरकारको औपचारिक संवाद भएको छैन ।राजनीतिक दलका नेताहरूले यो बीच राष्ट्रपति पौडेलललाई भेटेर चुनावका मुख्य सरोकारवाला दललाई सरकारले वास्ता नगरेको भन्दै गुनासो पनि गरिरहेका थिए ।

केही दिन अघि कांग्रेसका नेताहरु पुगेर राष्ट्रपति पौडेललाई राजनीतिक संवादका लागि सहजीकरण गर्न राष्ट्रपतिकै ध्यानाकर्षण गराएका थिए ।दसैं अघि एमाले नेताहरुले पनि राष्ट्रपतिलाई भेटेका थिए । त्यसक्रममा उनीहरुले सरकारले चुनाव गराउने दिशामा ध्यान नदिएको धारणा राष्ट्रपतिसमक्ष राखेका थिए ।तर बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भने वर्तमान सरकारप्रति विश्वास नरहेकाले चुनावमा भाग नलिने घोषणा गरेका छन् ।

त्यस्तै केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको र उनीहरूलाई पक्राउ गर्न दबाब समेत दिएकाले चुनावको राजनीतिक वातावरण बिग्रेला कि भन्ने चिन्ता थपिएको छ । यही अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार शीतल निवासमा चुनावमै केन्द्रित भएर करिब ४० मिनेट छलफल गरेका हुन् ।

तपाईको प्रतिक्रिया