नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म जिल्लावासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको अनुमान अनुसार यस अवधिमा मध्यमदेखि भारी वर्षा हुने भएकाले सम्भावित बाढी, डुबान, पहिरो र भूक्षयबाट बच्न सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो ।
प्रशासनले अत्यावश्यक बाहेक घरदेखि टाढा नगइ राति यात्रा नगर्न, नदी किनार र पहिरो जोखिम क्षेत्रमा बसाइ छाड्न, आवश्यक कागजात र खाद्यान्नसहितको ‘झटपट झोला’ तयार गर्न सुझाव दिएको छ ।
कालिगण्डकी करिडोरको गैँडाकोट–डेढगाउँ खण्ड र दलदले–धौवादी–बुलिङटार सडकमा असोज १९ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन नगर्न अनुरोध गरिएको छ ।
त्यस्तै, दाउन्ने खण्ड र तरङखोला आसपासमा आकस्मिक प्रयोगका लागि डोजर, एक्जाभेटर, लोडर तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासनले सुरक्षा निकाय, स्थानीय तह, नेपाल रेडक्रससहित सबैलाई विपद् पूर्वतयारीमा जुट्न आह्वान गरेको छ ।




उज्यालो खबर




