गैँडाकोट- गैँडाकोटको ऐतिहासिक र जेठो शैक्षिक संस्था जनक नमुना माध्यमिक विद्यालयमा विज्ञान विषयका कुशल शिक्षक बुद्धिसागर पण्डित पुनः प्रधानाध्यापकमा नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिले असोज १ गतेदेखि लागू हुनेगरी उहाँलाई प्रधानाध्यापक पदमा जिम्मेवारी तोकेको हो ।
वि.सं. २०४५ सालदेखि शिक्षण पेशामा संलग्न पण्डितले जनक मा.विमा अस्थायी र स्थायी गरी निरन्तर ३७ वर्षदेखि सेवा गर्दै आउनुभएको छ । विज्ञान विषयका विज्ञका रूपमा चिनिनुहुने उहाँ यसअघि पनि वि.सं. २०७३ असोज १ देखि २०७५ मंसीर २६ सम्म विद्यालयको नेतृत्व गर्नुभएको थियो । सो अवधिमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो ।
शिक्षक सेवा आयोगको परीक्षामार्फत २०६० सालमा स्थायी विज्ञान शिक्षकका रूपमा नियुक्त हुनुभएका पण्डित २०७४ सालमा बढुवामा सफल भई द्वितीय श्रेणीमा पदोन्नति हुनुभएको हो ।
जनक नमुना मा.विका पूर्व विद्यार्थी समेत रहेका उहाँले यही विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्नुभएको हो । उहाँले अँग्रेजी साहित्य र गणितमा बी.ए., जनसंख्या र विज्ञानमा बी.एड., भौतिक विज्ञानमा एम.एस्सी., अर्थशास्त्रमा एम.ए. गर्नुभएको छ भने हाल भौतिक विज्ञानमा पीएचडी स्कलर रहनुभएको छ ।
नम्र स्वभाव, कर्तव्यनिष्ठ र नेतृत्व क्षमतासहित कुशल शिक्षकका रूपमा परिचित पण्डितको पुनः नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार दुवै क्षेत्रमा नयाँ उचाइ लिने विश्वास गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।



उज्यालो खबर




