गैँडाकोट- हालै सम्पन्न Gen Z आन्दोलनका क्रममा गैँडाकोटमा भएको तोडफोड र आगजनी घटनासम्बन्धी विवादमा रास्वपाका नगर सभापति बिमल घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सार्वजनिक रुपमा प्रष्टिकरण दिएका छन्।
भाद्र २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले गैँडाकोट नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर प्रमुख–उपप्रमुखको निजी घर, गाडी, विभिन्न राजनीतिक दलका कार्यालय तथा नेताहरुको घर–सम्पत्तिमा भएको तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।
नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीको क्रममा आफू संलग्न रहेको देखिने भिडियो सार्वजनिक भएपछि उनले फेसबुकमार्फत लेखेको स्टाटसमा प्रष्टिकरण दिएका हुन्। उनका अनुसार उक्त समयमा घरबाट कांग्रेस चोकतर्फ आउँदै गर्दा आन्दोलनकारीहरुले कांग्रेस कार्यालयमा तोडफोड र आगजनी गरिरहेको देखेपछि जिज्ञासाले प्राङ्गणमा पुगेका थिए। त्यहाँ नारा लगाउने क्रममा संलग्न देखिए पनि तोडफोड वा आगजनीमा आफू सहभागी नरहेको दाबी उनले गरेका छन्।
“म रास्वपाको नगर सभापतिको हैसियतले अन्य दलको कार्यालयमा गएर नारा लगाउनु गल्ती हो, यस विषयमा म कमजोरी स्विकार्छु। तर तोडफोड र आगजनीमा मेरो कुनै प्रत्यक्ष संलग्नता छैन,” उनले स्टाटसमा स्पष्ट पारे। साथै, यस विषयमा प्रहरी प्रशासन वा सम्बन्धित निकायमार्फत निष्पक्ष छानबिन गर्न आग्रह गरे।
उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भिडियो सार्वजनिक गरेर टिकाटिप्पणी गर्नुभन्दा सम्बन्धित निकायमा उजुरी गर्न सबै पक्षलाई अनुरोध समेत गरे।
यस्तै, रास्वपाभित्र पनि आवश्यक छानबिन होस् भन्दै उनले पार्टीलाई लिखित रूपमा आग्रह गरेका छन्। “यदि मेरो प्रत्यक्ष वा परोक्ष संलग्नता प्रमाणित भएमा मलाई साधारण सदस्यसम्म नरहने गरी कारबाही होस्,” उनको भनाइ छ। साथै, छानबिनको निष्कर्ष नआएसम्मका लागि आफूलाई निलम्बन गर्न पनि उनले माग गरेका छन्।



उज्यालो खबर




