×

हालै मौलाकाली केबलकारमा भएको दुःखद घटनापछि पनि कम्पनीले नेपाली पर्यटन क्षेत्र उठाउने अठोट दोहोर्याउँदै सार्वजनिक सन्देश जारी गरेको छ। “सपना त टुटेका छैनन्, अठोट भाँचिएका छैनन्, सबैले हातेमालो गर्दै नेपाली पर्यटन उठाउने सकौँ गरौँ” भन्ने भावनासहित कम्पनीले पर्यटनप्रतिको दृढ प्रतिबद्धता दोहोर्याएको हो।
कम्पनीले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
सार्वजनिक कम्पनीको रूपमा सञ्चालित मौलाकाली केबलकारले गैडाकोट क्षेत्रलाई राष्ट्रिय तथा धार्मिक पर्यटनको केन्द्र बनाउँदै आएको छ। यस परियोजनामा हजारौं स्थानीयको लगानी, श्रम र योगदान रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मौलाकाली केबलकार न केवल धार्मिक आस्थाको केन्द्र हो, तर स्थानीय रोजगारी सिर्जना, उत्पादन वृद्धि र पर्यटन प्रवर्द्धनको माध्यम पनि हो। दुर्घटनापछि स्थानीय समुदाय, कर्मचारी तथा परिवारजनले देखाएको संयमता, समर्थन र सहकार्यप्रति कम्पनीले आभार प्रकट गरेको छ।
दुर्घटनाबाट पाठ सिक्दै कम्पनीले आगामी दिनमा सुरक्षा मापदण्ड थप कडाइका साथ लागू गर्ने, प्राविधिक तथा व्यवस्थापकीय सुधार गर्ने, र स्थानीयको निरन्तर साथमा परियोजना अघि बढाउने योजना बनाएको छ।
कम्पनीले अन्त्यमा भनेको छ, “यदि हामी सबै मिलेर साथ दिन्छौं भने नेपाली पर्यटन फेरि उठ्न सक्छ। हातेमालो आवश्यक छ। मौलाकाली केबलकार सधैं सकारात्मक सोच र सुरक्षाका उपायहरू लिएर अगाडि बढ्नेछ।”

 

तपाईको प्रतिक्रिया