पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ मा विभिन्न राजनीतिक दल परित्याग गर्दै ५० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
शनिबार गैँडाकोट–२ मा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा नारायणी नदी टोल, धौलागिरी टोल र शिलान्यास टोलका स्थानीयहरुले सामूहिक रूपमा पार्टी प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरुमध्ये मोहन पाण्डे, रामप्रसाद सापकोटा, पुरुषोत्तम पाण्डे, शिवबहादुर थापा, अम्बिका अधिकारी, सुरेश मरासैनी, ओविदत्त सुवेदी, सन्देश अधिकारी लगायत रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि तथा पार्टी केन्द्रीय लेखा तथा समिक्षा विभाग प्रमुख गोकुल सापकोटाले नयाँ प्रवेशकर्तालाई स्वागत गर्दै संगठन विस्तारसँगै जनताका सवालमा प्रतिबद्ध भएर अघि बढ्ने बताए। उनले भने, “रास्वपा अब जनताको विकल्पको मात्र होइन, विश्वासको समेत केन्द्र बन्दै गएको छ। हामीले संगठनलाई अझ बलियो बनाउँदै जनताका समस्यामा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।”
विशिष्ट अतिथि जिल्ला सभापति नरिश्वर लामिछानेले रास्वपाप्रति स्थानीयको आकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै जनताको विश्वासलाई इमान्दारितापूर्वक कायम राख्नुपर्ने धारणा राखे। उनले भने, “जनताले परिवर्तनको आशा र भरोसाका साथ हामीलाई हेरिरहेका छन्, त्यसैले व्यवहार र कामले त्यसलाई पुष्टि गर्नुपर्ने जिम्मेवारी हामीमाथि छ।”
रास्वपामा सामूहिक प्रवेशले गैँडाकोट–२ मा संगठन थप सुदृढ हुने अपेक्षा गरिएको रास्वपाले जनाएको छ।कार्यक्रम रास्वपा वडा सभापति शिव लम्सालको अध्यक्षतामा सम्पन्न भएको हो।



उज्यालो खबर




