चितवन – चितवनकाे नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा गणेश अर्याल आउने भएका छन् । गृहमन्त्रालयले उनलाई चितवन पठाउने निर्णय गरेको हो ।राजनीतिक र शान्ति-सुरक्षाका हिसाबले संवेदनशील मानिने चितवनमा पछिल्लो समय प्रजिअ नियुक्तिमा रस्साकस्सी थियो। गृह मन्त्रालयले आधा दर्जन बढी सहसचिवहरूमध्ये कार्यसम्पादनका आधारमा अर्याललाई जिम्मेवारी दिएको हो।
पर्साको प्रजिअबाट गृह मन्त्रालयमा सरुवा भएका अर्याल रुपन्देहीका सिडिओ हुँदा साउदी अरेबियामा मृत्युदण्ड पाएका नेपालीलाई ४७ लाख ब्लडमनी संकलन गरेर मृत्युदण्ड कार्यान्वयन हुनु ६ दिनअघि नेपाल फर्काएका थिए भने भैरहवा एयरपोर्टको सार्वजनिक जग्गा दर्ता प्रकरणमा संलग्न तत्कालीन मालपोत अधिकृतविरुद्ध कारबाही अघि बढाएका थिए। संविधानसभा सदस्यले चर्चेको सरकारी जग्गा फिर्ता ल्याउन आक्रामक प्रयासले स्थानीयस्तरमा वाहवाही कमाएका थिए ।
भारत-नेपाल सीमामा एकीकृत चेकजाँच प्रणाली लागू गरेका अर्यालले पर्सामा सिडिओ हुँदा शीतलहर पीडित ४८ सय घरपरिवारलाई एकद्वार प्रणालीमार्फत सहयोग पुर्याएर सरकारको तत्काल अनुभूति दिने खालका काम गरेका अर्यालले १८ वर्षपछि ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्नेलगायतका कामले स्थानीयबाट प्रशंसा पाएका थिए।सेवाग्राहीमैत्री सुधारमा अग्रणी अर्याल गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा गत वर्ष उत्कृष्ट ठहरिएका थिए।
चितवन जस्तो बहुआयामिक चुनौती र सम्भावना भएको जिल्लामा अर्यालको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ । स्थानीय सरोकारवाला निकायहरुले समेत उनको आगमनलाई सकारात्मक रुपमा लिएको बताइएकाे छ । अब चितवनमा गणेश अर्यालकाे नेतृत्वमा प्रशासनले कस्ता कदम चाल्छ भन्ने चासो बढेकाे छ ।



उज्यालो खबर




