चितवन । खैरहनी नगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सहकार्य गरी परजीवी किरा उत्पादन प्रयोगशाला स्थापना गर्ने भएको छ ।यससम्बन्धी समझदारी पत्रमा खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाँ र कृषि तथा वन विज्ञान विश्वविद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. निराजन भट्टराईले हस्ताक्षर गरेका हुन् ।
नगरपालिकाको कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार प्रयोगशालामा टेलेनोमस (प्वाँख निस्किएको कमिला जस्तो देखिने कालो किरा) र ट्राइकोग्राम्मा (बारुला जस्तो देखिने रातो आँखा भएको किरा) उत्पादन गरिनेछ । यी दुवै परजीवी किरा कृषिमा हानिकारक किराको जीवनचक्र तोड्न उपयोगी मानिन्छन् ।
कृषि प्रसार अधिकृत गौरव न्यौपानेका अनुसार, “टेलेनोमस र ट्राइकोग्राम्माले धान र मकैमा लाग्ने गबारो, अमेरिकन फौजी कीरा लगायत पुतली वर्गका किरालाई प्राकृतिक रुपमा नियन्त्रण गर्छन् ।” उनका अनुसार एक हेक्टर खेतका लागि करिब २० हजार यस्ता परजीवी आवश्यक पर्नेछ ।
सम्झौता अनुसार विश्वविद्यालयले प्रयोगशाला स्थापनामा प्राविधिक सहयोग गर्नेछ । साथै जैविक सामग्री उत्पादन तथा प्रवर्द्धनका लागि आवश्यक छोटो र दीर्घकालीन परामर्श सेवा पनि उपलब्ध गराइनेछ ।नगर प्रमुख खनियाँले परजीवी किरा उत्पादन प्रयोगशालाले वातावरणमैत्री र दिगो कृषि विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, “रासायनिक विषादीले लाभदायी जीव पनि नष्ट गर्छ, तर यी परजीवी किराले लक्षित हानिकारक किरालाई मात्र नियन्त्रण गर्ने भएकाले सुरक्षित कृषिको लागि प्रभावकारी हुनेछन् ।”
त्यस्तै, प्रा.डा. भट्टराईले किसानलाई सुरक्षित विकल्प उपलब्ध गराई दिगो कृषि प्रवर्द्धनमा प्रयोगशालाले उल्लेखनीय योगदान गर्ने अपेक्षा व्यक्त गरे ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले विश्वविद्यालयसहित विभिन्न निकायसँग सहकार्य गरेर कृषि क्षेत्रमा साझेदारीमा काम गर्ने योजना वार्षिक नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिए ।



उज्यालो खबर




