×

गैँडाकोट – गैँडाकोट नगरपालिकाको आयोजनामा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउने अभियान आज (सोमबार) मिलनचोक, वडा नं. १ बाट सुरु भएको छ ।

नगरका सबै १८ वटै वडामा सञ्चालन हुने यस अभियान करिब एक महिनासम्म चल्नेछ । नगरपालिकाले गैँडाकोटमा मात्रै दुई हजार भन्दा बढी सामुदायिक कुकुर रहेको अनुमान गरेको छ । गतवर्ष रेविजका कारण गैँडाकोटमा २ जनाले ज्यान गुमाउनुपरेको हुँदा यस वर्षको अभियानलाई अझ प्रभावकारी बनाइएको छ ।

खोप अभियानमा हिमालयन एनीमल रेस्क्यू ट्रस्ट (हार्ट नेपाल), रोटरी क्लब अफ गैँडाकोट र रोट्याक्ट क्लब अफ गैँडाकोट सहकार्यरत छन् । चिकित्सक तथा प्राविधिकहरूको टोलीले खोप कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाका सहायक पशु विकास अधिकृत नागेन्द्र शाहले जानकारी दिनुभयो ।

खोप अभियानको उद्घाटन कार्यक्रममा मेयर मदनभक्त अधिकारी, वडा नं. १ का अध्यक्ष सुरेन्द्र रेग्मी, वडा नं. ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा, रोटरी क्लब अफ गैँडाकोटका अध्यक्ष हिरालाल अर्याल लगायतले सहभागिता जनाउँदै रेविज नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया