चितवन- चितवनको सौराहामा एक प्रहरी वरिष्ठ हवल्दारले रक्सी सेवन गरी होटलमा कार्यरत दुई युवालाई कुटपिट गर्दा एकजना गम्भीर घाइते भएका छन् ।गत शनिबार राति साथीको जन्मदिन कार्यक्रममा रक्सी सेवन गरी मातिएका चित्रसारी प्रहरी बिटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जीवन महतले सडकमा घर फर्किरहेका होटल कर्मचारीलाई रडले प्रहार गरेका हुन् ।
होटल ड्युटी सकेर मोटरसाइकलमा घर फर्किरहेका बालेश्वर चौधरी र उनका सहकर्मी २६ वर्षीय सन्देश दाहालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । चौधरीले चलाइरहेका ना ४५ प ५९३८ नम्बरको मोटरसाइकल रोक्ने क्रममा हवल्दार महतले रड प्रहार गर्दा पछाडि बसेका दाहालको अनुहारमा लागेको थियो । रगताम्य भएका दाहाल गम्भीर घाइते भई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा भर्ना गरिएको छ ।घाइते दाहालको अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
पीडित दुबै जना कार्यरत रिभर सन रेष्टुरेन्टका सञ्चालक नविन श्रेष्ठले आफ्ना कर्मचारी अहिलेसम्म विवादमा नलाग्ने र मादक पदार्थ सेवन नगर्ने भएको बताउँदै प्रहरीकै यस्तो व्यवहारले नागरिक असुरक्षित भएको गुनासो गरेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले घटनाबारे अनुसन्धान भइरहेको र संलग्न प्रहरीमाथि विभागीय कारबाही अघि बढाइने बताएका छन् ।



उज्यालो खबर




