×

गैँडाकोट- नारायणी पुलतर्फको गैँडाकोट सडक खण्डको जीर्ण अवस्था सुधार गर्न नेकपा (एमाले) गैँडाकोट नगर कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ।करिब १२० मिटर लामो जिकज्याक सडक खण्डमा दिनहुँजसो दुर्घटना हुने र यात्रुले ज्यान गुमाउने अवस्था सिर्जना भएकाले तत्काल पिच गर्नुपर्ने माग एमालेले अघि सारेको हो।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा नगर कमिटी अध्यक्ष कृष्ण कँडेलले “धुलोका कारण स्थानीयवासी र यात्रुको स्वास्थ्यमा गम्भीर असर परेको छ, ढुंगा छुट्टिएर दुर्घटनाको जोखिम बढेको छ, त्यसैले तत्काल समाधान आवश्यक छ,” भन्नुभयो।

त्यस्तै, सडक विस्तार क्रममा तोडफोड भई जीर्ण अवस्थामा पुगेको गैँडाकोट–भृकुटीचोकस्थित पुरानो पक्की संरचना जुनसुकै बेला भत्किने जोखिम रहेको भन्दै त्यसलाई तुरुन्त हटाउन पनि एमालेले माग गरेको छ। वर्षायाममा स्थानीयले ओतका रूपमा प्रयोग गर्ने यो संरचना मानवीय क्षतिको खतरा बनेको भन्दै तत्काल हटाउनुपर्नेमा जोड दिइएको छ।

माग सम्बोधन नगरे दबाबमूलक कार्यक्रम र सडक आन्दोलनमा उत्रिनुपर्ने चेतावनी समेत एमालेले दिएको छ।

नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड कार्यालयका लेखापाल शरद चन्द्र शर्मामार्फत आयोजना प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको हो। पत्र बुझ्दै शर्माले “बर्खा सकिएलगत्तै पूर्वपश्चिम राजमार्गका बाँकी खण्डमा पिच सुरु हुने” जानकारी दिनुभयो।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा गैँडाकोटका निवर्तमान नगरप्रमुख छत्रराज पौडेल, नगर अध्यक्ष कृष्ण कँडेल, सचिव राजु भुसाल, वडा कमिटी अध्यक्षहरु ध्रुव अधिकारी र शिव भुसाल, नगर कार्यालय सचिव बाबुराम रानाभाटसहित एमालेका नेता तथा कार्यकर्ताहरू उपस्थित रहेका थिए।

तपाईको प्रतिक्रिया