×

काठमाडौँ- चितवनको खैरहनी नगरपालिका देशभरका पालिकाहरुमध्ये दोस्रो उत्कृष्ट पालिका भएको छ । आर्थिक वर्ष २०८०/८१ मा भएको कार्यसम्पादन अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) मा देशैभरीको पालिकाहरुमध्ये खैरहनी नगरपालिका दोस्रो स्थानमा पर्न सफल भएको हो ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन पालिकाहरुले दावी गरेको अंकमा संघीय मामिला तथा प्रशासन मन्त्रालयले गुणस्तर परिक्षण प्राप्त गरेको नतिजा आज सार्वजनिक गरेको हो । गुणस्तर परिक्षण पश्चात् सार्वजनिक गरिएको अंकमा खैरहनी नगरपालिका दोस्रो स्थानमा परेको हो । कुल १०० अंकमा खैरहनीले ९२.७५ अंक प्राप्त गरेको छ । धादिङको निलकण्ठ नगरपालिका ९३ दशमलव ५ अंकसहित प्रथम भएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा गाउँपालिका र नगरपालिकातर्फ उत्कृष्ट तीन तीन वटा पालिकालाई आज मन्त्रालयले सम्मान गरेको छ । नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका, चितवनको खैरहनी नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिका सम्मानित भएको छ । त्यस्तै गाउँपालिकातर्फ धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका , गुल्मिको रूरूक्षेत्र गाउँपालिका र स्याङ्गजाको अर्जुनचौपारी गाउँपालिका सम्मानित भएको हो ।

मन्त्रालयमा आयोजिय सम्मान कार्यक्रममा संघीय मामिला तथा प्रशासन मन्त्री भगवती न्यौपानेले नगर प्रमुख शशी कुमार खनिया र प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सापकोटालाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरिन । चितवनकै रत्ननगर नगरपालिका उत्कृष्ट नवौं स्थानमा परेको छ । मन्त्रालयद्वारा प्रकाशित देशभरको उत्कृष्ट १० पालिकाको सुचीमा रत्ननगर नगरपालिका ८९ अंक सहित नवौं स्थानमा परेको छ ।

तपाईको प्रतिक्रिया