×

नवलपुर – गैँडाकोटस्थित मौलाकालिका मन्दिर जाने सीढीमार्गमा बत्ती नबलेपछि भक्तजन र स्थानीयवासी अन्धकारमै ओहोरदोहोर गर्न बाध्य भएका छन् ।मौलाकालिका फेदी हुँदै जंगल क्षेत्रतर्फ जाने बाटोमा जडान गरिएका बत्तीहरु केही समयदेखि बिग्रिएर नबलेपछि मन्दिर दर्शन तथा शारीरिक व्यायामका लागि बिहान–बेलुकी जाने भक्तजनलाई असुविधा भएको हो ।

अन्धकारका कारण जंगली जनावरको भयसँगै आपराधिक गतिविधिको आशंका बढेको स्थानीयवासीले बताएका छन् ।स्थानीय सुजन पौडेलले भने, “हामी बिहानै व्यायाम र दर्शनका लागि जाने गर्छौं । बत्ती नबलेपछि ठोक्किने, चिप्लिने मात्र होइन अन्य खतरा पनि हुन्छ । समितिले तत्काल ध्यान दिनुपर्छ ।”

मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले वर्षायाम भएकाले मर्मतमा केही ढिलाइ भएको स्वीकार गर्दै निकट भविष्यमै समाधान हुने जानकारी दिए ।उनका अनुसार, “अबको केही दिनमा सीढी सरसफाइ गर्ने र पोलमा रहेका बिग्रिएका बत्ती मर्मत गरेर मार्ग उज्यालो बनाउने तयारी भइरहेको छ ।”

मौलाकालिका मन्दिर नवलपुरको धार्मिक तथा पर्यटकीय गन्तव्य मानिन्छ । यहाँबाट चितवन उपत्यका, नारायणी नदी र गण्डकी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । दैनिक सयौँ भक्तजन मन्दिर दर्शन र व्यायामका लागि पुग्ने गर्दछन् ।भक्तजनले मौलाकालिका क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि तत्काल बत्ती मर्मत गरी दिगो समाधान गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया