गैँडाकोट- गैँडाकोट–५ मा रहेको गैँडाकोट आधारभूत अस्पतालमा आइतबारदेखि स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सञ्चालनमा आएको छ। अस्पतालको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रममा सेवा शुभारम्भ गरिएसँगै अब नगरवासीले सस्तो, सरल र गुणस्तरीय उपचार सेवा सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रमलाई गाउँगाउँसम्म पुर्याउन हामी प्रतिबद्ध छौं। तपाईंले बीमाको पहुँच प्राप्त गरेपछि न्यून शुल्कमा प्रभावकारी सेवा लिन सक्नुहुन्छ।”
गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले स्वास्थ्य बीमा कार्यक्रम सुरु हुनु गैँडाकोट नगरवासीका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आधारभूत पूर्वाधार र जनशक्ति व्यवस्थापनमा निरन्तर काम गरिरहेको छ। अब बीमा प्रणालीमार्फत तपाईंको उपचार खर्चको बोझ घटाउने हाम्रो लक्ष्य छ।”
स्थापक नगरप्रमुख छत्रराज पौडेलले स्वास्थ्य सेवा नियमित र प्रभावकारी बनाउन सबै तहको सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य र सुलभ हुनुपर्नेमा जोड दिनुभयो।
नगर उपप्रमुख शान्ति कोइरालाले भन्नुभयो, “नगर स्तरमै स्वास्थ्य सेवा सहज बनाउन बीमा कार्यक्रम महत्वपूर्ण हुनेछ। तपाईंहरूको सक्रिय सहकार्यले यो कार्यक्रम अझ प्रभावकारी बन्न सक्छ।” उहाँले स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्रमा नगरपालिका अझै उत्तरदायी ढंगले काम गरिरहेको बताउनुभयो।
नगर प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको उल्लेख गर्नुभयो। उहाँले अब तपाईंले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नुहुनेछ भन्नुभयो।कार्यक्रममा विभिन्न वडाध्यक्ष, वडासदस्य, सामाजिक तथा धार्मिक अगुवा र स्थानीयवासीहरू सहभागी हुनुहुन्थ्यो। जनस्वास्थ्य निरीक्षक माधव आचार्यले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।



उज्यालो खबर




