×

नवलपुर- सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय, नवलपुरले राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपसेनानी रामचन्द्र खड्काले विद्यार्थीहरूलाई एनसीसी सिनियर डिभिजनको उद्देश्य, तालिम संरचना र महत्वबारे अभिमुखीकरण दिनुभयो। उहाँले भने, “फिजिकल तालिम आफ्नो लागि हो, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ। प्रयास र लगनशीलताले सफलता अवश्य मिल्छ।”

विद्यालयले यसअघि जुनियर डिभिजन एनसीसीमा सफलता हात पारेपछि यस वर्षदेखि सिनियर डिभिजन तालिम सञ्चालन गर्न लागिएको हो। नवलपुर जिल्लाका पाँच विद्यालयमध्ये सरस्वती निकेतन पनि छनोटमा परेको विद्यालय हो।

विद्यालयका प्राचार्य भरतबाबु कँडेलले तालिमले पठनपाठनमा असर नपर्ने बताउनुभयो। उहाँले एनसीसीले विद्यार्थीमा अनुशासन, जिम्मेवारी र राष्ट्रसेवाको भावना विकास गराउने विश्वास व्यक्त गर्नुभयो।

तालिमका प्रमुख प्रशिक्षक खड्कबहादुर गोतामेले तालिमले विद्यार्थीमा बफादारी, इमानदारी र देशभक्तिको भावना विकास गराउने बताउनुभयो। उहाँले तालिम अनुशासनमा आधारित हुने र बीचमै छाड्ने वा नियम उल्लंघन गर्ने विद्यार्थीलाई तालिमबाट हटाइने पनि स्पष्ट पार्नुभयो।

विद्यालय सञ्चालक समिति अध्यक्ष चोक्षादेवी कँडेलले एनसीसी तालिम युवाहरूलाई राष्ट्रको विश्वसनीय सेवक बनाउने विश्वास व्यक्त गर्नुभयो। सहायक प्राचार्य लक्ष्मण कँडेलले तालिम प्राप्त गर्नु विद्यालयका लागि गौरवको विषय भएको बताउँदै, “विद्यार्थीहरूले अनुशासित र समर्पित भएर विद्यालय, नगरपालिका, प्रदेश तथा देशको नाम उज्यालो पार्न सक्नुपर्छ,” भन्नुभयो।

कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघ अध्यक्ष कमलापति शर्माले गर्नुभएको थियो भने सहजीकरण सहायक प्राचार्य लक्ष्मण कँडेलले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया