×

नवलपुर- नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३, उदयटारीमा घरेलु विवादका कारण एक महिलाको ज्यान गएको छ।
बिहीबार बिहान करिब १०:३० बजे, ५० वर्षीय महेन्द्र पौडेलले आफ्नी ४७ वर्षीया पत्नी गोमा पौडेलको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार पौडेलले तरकारी काट्ने धारिलो चक्कु प्रयोग गरी श्रीमतीको घाँटीमा प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी गोमाको घटनास्थलमै मृत्यु भएको थियो।

हत्या लगत्तै आरोपी महेन्द्र पौडेललाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको छ। उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ र प्रारम्भिक सोधपुछका आधारमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।घटनाको थप विवरण संकलन तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी नायब निरीक्षक (सई) ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।

प्रहरीका अनुसार घटना पछाडि घरायसी विवाद मुख्य कारण देखिए पनि हत्या हुनुमा वास्तविक कारण र पृष्ठभूमि अझै यकिन हुन बाँकी छ।
“घटनाको प्रारम्भिक जानकारीअनुसार घरेलु विवाद देखिए पनि हामी विस्तृत अनुसन्धानमा जुटेका छौं,” डीएसपी मधु नेपालले बताए।

उक्त घटना सर्दीस्थित अस्थायी प्रहरी चौकीबाट करिब २ किलोमिटर पूर्वतर्फ परेको स्थानमा भएको हो।शान्तिपूर्ण मानिने उक्त बस्तीमा भएको यस प्रकारको घटनाले स्थानिय बासिन्दा त्रसित र स्तब्ध बनेका छन्। प्रहरीले घटनास्थल वरिपरि सुरक्षा व्यवस्थासमेत कडा पारेको छ।

प्रहरीले घटनामा संलग्न आरोपीलाई मुलुकी फौजदारी संहिता अनुसार ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।
यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग समन्वय गर्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया