×

गैँडाकोट नगरपालिका–१८ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई प्रभावकारी र सबैसमक्ष सहज बनाउने उद्देश्यले टोलटोलमै पुगेर सेवा दिने अभियान सुरु गरेको छ।

भौगोलिक रूपमा दुर्गम र विकट बस्तीहरू रहेका कारण वडावासीलाई वडा कार्यालयसम्म आउन घन्टौं लाग्ने भएकाले तथा वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरूलाई सेवा पहुँचमा सहजता दिलाउन यो निर्णय गरिएको वडा अध्यक्ष तिलबहादुर चितौरेले जानकारी दिए।

“सामाजिक सुरक्षा भत्ता नविकरण सबैको अधिकार हो। कसैले पनि सेवाबाट वञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो। त्यसैले हामी वडा समिति नै लिएर टोलटोलमा पुगेका छौं,” अध्यक्ष चितौरेले भने, “जनताको घरदैलोमै पुगेर सेवा दिने अभ्यासले स्थानीय तहको विश्वसनीयता बढ्छ। हामी यसलाई निरन्तरता दिनेछौं।”

वडा समितिको निर्णयअनुसार अभियान अन्तर्गत इन्टरनेटको पहुँच भएका विद्यालयहरूलाई केन्द्र बनाइ सामाजिक सुरक्षा भत्ता नविकरण सुरु गरिएको छ। वडाध्यक्ष चितौरे स्वयं र वडा सदस्यहरू समेत टोलीसहित विभिन्न टोलमा पुगेर सेवा दिइरहेका छन्।

वडा सचिव रामू पौडेलका अनुसार दुर्गम क्षेत्रका बासिन्दालाई सहज हुने गरी योजनाबद्ध रूपमा विभिन्न टोलहरूमा अभियान विस्तार हुँदैछ। “प्राविधिक सुविधा भएका विद्यालयहरूमार्फत् डिजिटल प्रणालीमा नै विवरण अद्यावधिक गरिरहेका छौं,” उनले बताए।

स्थानीय बासिन्दाले वडाको यो पहलको प्रशंसा गर्दै सेवा प्रवाहको नयाँ ढाँचाले आफूहरूलाई निकै सहज भएको प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया