×

गैंडाकोट नगरपालिकामा बसोबास गर्ने एक आमा र उनका छोराले एउटै समयमा कक्षा १२ को परीक्षा सफलतापूर्वक पास गर्दै एउटा अद्वितीय र प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

गैंडाकोट४ की कल्पना भुषाल न्यौपाने र उनका छोरा दिपनराज न्यौपाने दुबै जना २०८१ सालको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका हुन्।
दिपनराजले जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट–५ बाट विज्ञान संकायमा अध्ययन गर्दै परीक्षा दिएका थिए भने आमाले अनिवार्य नेपाली विषयमा परीक्षा दिएकी थिइन्।

कल्पना भुषालले २०५८ सालमा एसएलसी (हालको कक्षा १०) उत्तीर्ण गरेकी थिइन्। त्यसपछि अध्ययन रोकिएको थियो। लामो अन्तरालपछि उनले फेरि पढाइलाई निरन्तरता दिँदै कक्षा ११ मा भर्ना भई रेगुलर विद्यार्थीको रूपमा कक्षा १२ सम्मको यात्रा सफलतापूर्वक पूरा गरेकी हुन्।

कल्पनाले भनिन्, “जीवनका अनेकौं जिम्मेवारीबीच पनि पढ्ने चाहना कहिल्यै मरेन। छोरासँगै बसेर पढ्न पाउँदा झन् ऊर्जा मिल्यो। यो यात्रा सजिलो त थिएन, तर सम्भव भयो।”

छोरा दिपनराजका लागि पनि आमासँगै पढ्ने अनुभव विशेष रह्यो। “घरमै आमासँग पढ्दा प्रेरणा मिल्यो, प्रतिस्पर्धा पनि भयो, अनि हामी दुवैले सँगै सफलता चुम्न सक्यौं,” उनले मुस्कुराउँदै भने।

उमेर र परिस्थितिले सीमित नगरेर आफ्नो लक्ष्यमा अघि बढ्न सकिन्छ भन्ने कुराको स्पष्ट उदाहरण बनेका छन् यी आमा–छोरा। समाजमा यस्तो सफलता प्रेरणाको स्रोत बनिरहेको छ।

स्थानीय शिक्षक र समुदायले पनि यो सफलतालाई उच्च सम्मान दिएका छन्। जनक नमुना माविका एक शिक्षकले भने, “कल्पना ज्यूको लगनशीलता र साहस सिङ्गो समाजका लागि प्रेरणाको स्रोत हो। शिक्षाको कुनै उमेर हुँदैन भन्ने कुरा उनले व्यवहारमा देखाइदिएकी छन्।”

अब कल्पना भुषालको लक्ष्य स्नातक तहसम्मको अध्ययन पूरा गर्ने रहेको छ भने दिपनराजले विज्ञान क्षेत्रमै भविष्य बनाउने योजना बनाएका छन्।

तपाईको प्रतिक्रिया