×

चितवन-  नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले साउन ११ गते (भोलि) देखि लागु हुने गरी दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। अत्यधिक गर्मी, वर्षा नपरेकाले सिँचाइको माग वृद्धि र संरचनागत सीमा रहेका कारण विद्युत् आपूर्तिमा कटौती गर्नुपरेको वितरण केन्द्रले जनाएको छ।

लोडसेडिङ नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा हुने प्राधिकरणले जानकारी दिएको छ। ती क्षेत्रमा दैनिक ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने व्यवस्था गरिएको हो।

प्राधिकरणका अनुसार, भरतपुरस्थित १३२/३३ के. भि. सब–स्टेशनबाट सञ्चालित ३३ के. भि. डग कन्डक्टर तारले अधिकतम ३०० एम्पिएर मात्र विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्दछ। तर हाल अत्यधिक गर्मी र सिँचाइको लोडका कारण विद्युत् माग ४५० एम्पिएरसम्म पुगेको हुँदा सो तारले लोड धान्न नसकेको जनाइएको छ।

वितरण केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, “वैकल्पिक रूपमा लोड व्यवस्थापन नगरे ऊर्जा प्रवाह असन्तुलित भई प्रणालीमा क्षति पुग्न सक्ने जोखिम भएकाले बाध्यात्मक रूपमा लोडसेडिङ गर्नु परेको हो।”

रोपाईंको समय रहेकाले खेतबारीमा सिँचाइका लागि प्रयोग हुने मोटरपम्पहरूको प्रयोग तीव्र भएको र आकाशे पानी नपरेकाले विद्युत् लोडमा अत्यधिक वृद्धि भएको प्राधिकरणको भनाइ छ।फिडरअनुसारको विस्तृत लोडसेडिङ तालिका छिट्टै सार्वजनिक गरिने जानकारी समेत वितरण केन्द्रले दिएको छ।

कहाँ कतिबेला लोडसेडिङ ?

१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।

२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।

३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

तपाईको प्रतिक्रिया