गैडाकोट- नेपाल सांस्कृतिक महासंघ गैडाकोट नगर समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। अधिवेशनबाट रघुनाथ कंडेलको अध्यक्षतामा १३ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको हो। समितिमा अर्जुनकुमार क्षेत्री उपाध्यक्ष, पञ्चमाया चितौरे सचिव, कृष्णकुमारी भट्टराई सहसचिव चयन हुनुभएको छ भने सदस्यहरूमा सुवास आचार्य, श्रीकान्त भिमिरे, बिन्दु लामिछाने, इश्वरी खत्री, डोल बहादुर परियार, मिना कुमारी खनाल,सुशन गुरुङ र तेजेन्द्र सुनारी मगर हुनुहुन्छ।
प्रथम नगर अधिवेशनको अध्यक्षता रघुनाथ कंडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेस गैडाकोट नगर सभापति बद्री सापकोटा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथिसापकोटा भन्नुभयो , “संस्कृति कुनै जात, वर्ग वा भूगोलको सीमामा मात्र सीमित विषय होइन, यो हाम्रो सामूहिक पहिचान र अस्मितासँग जोडिएको विषय हो।
विविधताको सम्मान गर्दै एकताको भावनाबाट राष्ट्र निर्माणको आधार संस्कृतिमै अडिएको हुन्छ।” उहाँले संघको स्थायित्व, सशक्तिकरण र युवापुस्तालाई सांस्कृतिक चेतनासँग जोड्न आवश्यक रहेकोमा पनि जोड दिनुभयो।
अधिवेशनमा महासंघको मूल उद्देश्यका रूपमा नेपालभित्र फैलिएका विविध भाषा, संस्कृति, परम्परा, रीतिरिवाज, धर्म, संगीत, साहित्य, कला र सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन र विकासलाई विशेष प्राथमिकता दिइने प्रतिबद्धता जनाइएको थियो। साथै, लोकतान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई आत्मसात् गर्दै सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको वृत्तिविकासमा सहयोग पुर्याउने, सृजनात्मक क्रियाकलापमार्फत सांस्कृतिक जागरण र पहिचान निर्माणमा योगदान दिने तथा सांस्कृतिक स्वतन्त्रता र मर्यादामा हुने हस्तक्षेपविरुद्ध स्पष्ट रुपमा आवाज उठाउने धारणा व्यक्त गरिएको थियो।
नेपाली कांग्रेसको नीति, सिद्धान्त र विधानको मूल मर्मअनुसार अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो। साथै, स्थानीय स्तरमा रहेका कला, साहित्य, र सृजनात्मक प्रतिभाहरूलाई पहिचान गरी तालीम, प्रशिक्षण र गोष्ठीमार्फत उत्प्रेरणा दिने कार्यलाई महासंघले संस्थागत रूपमा अगाडि बढाउने घोषणा पनि गरिएको थियो।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचन, गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भिम शर्मा र गैँडाकोट नगरपालिकाका कार्यपालिका सदस्य शान्ति नेउपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजकर्ता नेपाली काँग्रेसका नगर सचिव गोविन्द घिमिरे रहनुभएको थियो।



उज्यालो खबर




