×

एडिलेड –नवलपुरको गैँडाकोट नगरपालिकाका स्थायी बासिन्दा बसन्त सापकोटाले गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलिया (NRNA-SA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। हाल अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्दै आएका सापकोटा लामो समयदेखि नेपाली समुदायभित्र सामाजिक, सांस्कृतिक र संस्थागत गतिविधिमा सक्रिय रहेका छन्।

उम्मेदवारी घोषणा गर्दै सापकोटाले NRNA-SA लाई आर्थिक रूपमा अझ पारदर्शी, उत्तरदायी र समावेशी बनाउने अठोट व्यक्त गरेका छन्। उनले NRNA-SA लाई केवल संस्था नभई विदेशमा रहेका नेपालीहरूको भावना, संघर्ष र सम्भावनाहरूको साझा मञ्चको रूपमा व्याख्या गर्दै आफू पदको आकांक्षा नभई सेवा गर्ने अवसरका लागि चुनावी प्रतिस्पर्धामा होमिएको स्पष्ट पारे।

“एडिलेड मेरो बसोबासको शहर मात्र होइन, मेरो पसिना, श्रम र सपना गाठो भएर बसेको दोस्रो घर हो,” उनले भने, “यहाँको नेपाली समुदाय मेरो आत्मीय परिवार हो र म त्यो परिवारप्रति सधैं उत्तरदायी रहनेछु।”

सापकोटाले आफ्नो नेतृत्वमा लेखा प्रणालीलाई डिजिटल माध्यमबाट अभिलेखीकरण गरिने, आर्थिक विवरणहरू नियमित रूपमा सार्वजनिक गरिने र स्रोत संकलनमा रचनात्मक पहलकदमी लिइने बताएका छन्। साथै, उनले संस्थालाई सबैको साझा मञ्च बनाउँदै प्रत्येक सदस्यको विश्वास जित्नेतर्फ आफू केन्द्रित रहने प्रतिवद्धता जनाए।

उनको उम्मेदवारीलाई समुदायभित्र सकारात्मक प्रतिक्रिया देखिएको छ। आगामी जुलाई २६ मा हुने निर्वाचनमा उनले नेपाली समुदायको भरोसा र साथ प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया