रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित ७ जना कर्मचारी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । पालिकाले बुधबार साँझ सार्वजनिक सूचना जारी गर्दै उनीहरु सम्पर्कमा नरहेको जानकारी दिएको हो ।
गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार असार २३ गते कार्यकक्षमै भेट भएका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर र उनीसँगै गएका अन्य ६ जना कर्मचारी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । “२३ गते कार्यालयमा भुक्तानी सम्बन्धी छलफल भएको थियो, त्यसपछि सम्पर्कमा आउनुभएको छैन, विवाद केही थिएन, तर अहिलेसम्म कसैसँग सम्पर्क हुन सकेको छैन”, अध्यक्ष बुढामगरले नेपाल प्रेससँग बताए ।
थवाङ गाउँपालिकाले जारी गरेको सूचनामा नेपाल टेलिकमको नेटवर्क असहज भएकाले बेलुका ७–८ बजेदेखि बिहान ८ बजेसम्म काम नगर्ने उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर कार्यालयको भुक्तानी कार्यका लागि ओटीपी कोड लिन रुकुम पूर्व गएका तर त्यसपछि सम्पर्कमा नआएको जानकारी दिइएको छ ।
गाउँपालिकाको तर्फबाट गरिएका सम्पर्क प्रयास विफल भएपछि प्रहरी कार्यालयलाई जानकारी दिइएको अध्यक्ष बुढामगरले बताए । उनका अनुसार सम्पर्कविहीन सबैको मोबाइल अफ छ र उनीहरूसँगै रहेका घरपरिवारका सदस्यहरूसँग पनि सम्पर्क हुन सकेको छैन ।
हालसम्म उनीहरु कुन ठाउँमा छन्, सुरक्षित छन् वा छैनन् भन्ने विषयमा कुनै जानकारी नभएको र खोजी कार्य जारी रहेको जनाइएको छ । पालिकाले कसैले उनीहरूको बारेमा जानकारी पाएको खण्डमा तत्काल गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सम्पर्कविहीन कर्मचारीहरूको विवरण यस्तो छ:
-
हेमराज घर्तीमगर – प्रमुख प्रशासकीय अधिकृत
-
हरिश माझी – सहायक प्रशासन पाँचौं
-
यज्ञप्रसाद कंडेल – सहलेखापाल
-
चन्द्रप्रकाश ओली – सवइन्जिनियर
-
निशा आचार्य – सवइन्जिनियर
-
शिवकुमार वली – खा.पा.स.टे.
-
प्रदीप केसी – सवारी चालक



उज्यालो खबर




