काठमाडौं । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्र बाढीको चपेटामा परेपछि ठूलो मात्रामा क्षति भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ । नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार करिब १ सयभन्दा बढी गाडी बाढीले बगाएको अनुमान गरिएको छ। तीमध्ये अधिकांश सवारी साधनहरू मालवस्तु बोकेका थिए।
गजुरेलका अनुसार यार्डमा २३० वटा सवारीसाधन पार्किङ गरिएको थियो, जसमा केही गाडीहरू भने जोखिम देखिएपछि राति नै माथिल्लो क्षेत्रमा सारिएको जनाइएको छ। “ठ्याक्कै कति गाडी बग्यो भन्ने अझै खुलिसकेको छैन, क्षतिको विवरण संकलनको काम भइरहेको छ,” गजुरेलले भने।
उनका अनुसार इभी (इलेक्ट्रिक) गाडीहरू यार्डको केही पर रहेका कारण तुलनात्मक रूपमा कम क्षति पुगेको प्रारम्भिक आँकलन गरिएको छ।
यसबीच नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले भने अहिलेसम्म कुन कुन ब्राण्डका कति गाडी बगाएका छन् भन्ने ठोस विवरण आउन बाँकी रहेको बताए। “तथ्यांक संकलनकै क्रममा छौं, सरकारसँग समन्वय गरिरहेका छौं,” चौधरीले बताए।
हाल घटनास्थलमा बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलनको कार्य तीव्र रूपमा भइरहेको छ। यति धेरै संख्यामा गाडी बग्नुको असर केवल आर्थिक पक्षमा मात्र नभई आपूर्ति व्यवस्थामा समेत देखिन सक्ने संकेत देखिन्छ।



उज्यालो खबर




