काठमाडौं । प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र साम्प्रदायिक रंग दिने प्रयास गरेका छन् । एक भिडिओ वक्तव्य जारी गर्दै उनले मधेस नेपालबाट अलग भएरै छोड्ने आपत्तिजनक अभिव्यक्तिसमेत दिए ।
अज्ञात स्थलबाट हिन्दी भाषामा जारी गरेको भिडिओ वक्तव्यमा यादवले भारतको बिहार राज्य सरकारलाई गुहारेका छन् । नेपालमा आफूमाथि शोषण दमन भएको भन्दै उनले विदेशी राज्यसँग सहयोगको याचना गरेका हुन् ।
उनले भनेका छन्, ‘मधेशमा नागरिकतादेखि तमाम अपराध गरेर मधेसीलाई विदेशी बनाउने चलखेल भइरहेको थियो दमन गरिएको थियो र त्यसको खिलाफ मधेसमा आन्दोलन भएको थियो । मधेस जनविद्रोहमा म पनि सामेल थिएँ । मलाई पुलिस प्रशासनले टर्चर गर्यो । तर जनताको शक्तिले म बाहिर रहेँ र मधेस सरकारको गठन भयो ।’
प्रहरीले राति कार्यालय खोलेर कमिसन उठाएको आरोप यादवले लगाएका छन् । यो विषयमा एसपीसँग कुरा गर्दा आफूलाई ‘साले’ भनेर गाली दिएको उनको दाबी छ ।
‘मलाई जनताले यस्तो कुरा सुनाउँदा सुरुमा त विश्वास भएन । तर फोटो नै पठाएपछि म आफैँ गए र एसपीसँग कुरा गरेँ । एसपीले मलाई साले भनेर गाली दियो । म पनि आन्दोलनकारी हुँ । मेरो मुखबाट पनि केही शब्द निस्किए,’ उनले भनेका छन् ।
भारतले नेपालका सबै आन्दोलनकारीलाई शरण दिँदै आएको उनले सम्झाएका छन् । नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न कुनै सहयोग मागेको खण्डमा नदिन यादवले याचना गरेका छन् ।
‘भारतमा नेपालका आन्दोलनकारीलाई शरण मिल्दै आएको छ । आन्दोलनकारी भनेका कुनै अपराधी र हत्यारा होइनन् । सर्लाहीको एसपी र डीएसपीले गुण्डागर्दी गरे । उनीहरू मेरो रिस्तेदारको घरमा गएर छापा मारिरहेका छन् । म बिहार सरकारलाई आग्रह गर्छु कि यो राजनीतिक मामला हो । हामी आन्दोलनको लडाइँ अहिले पनि लडिरहेका छौँ । यसमा भारतको सपोर्ट मिल्नुपर्छ । भारत र बिहारको लोग नभए हामीमाथि अझै जुर्म हुन्थ्यो । म बिहारका पुलिस प्रशासनलाई आग्रह गर्छु कि नेपालको एसपीले भनेर कुनै पनि कदम नउठाउनु । उनीहरूको नश्लिय भेदभाव गर्ने मान्छेहरू हुन्,’ यादवले भनेका छन् ।
थप बरबराउँदै उनी भन्छन्, ‘नेपालमा मधेशीमाथि दमन र शोषण हुँदै आएको छ । यी नस्लवादी, खसवादीहरूले आज पनि नेपालमा मधेशीलाई दोस्रो दर्जाको नागरिक भनिरहेका छन् । यो देशबाट मधेश अलग हुनुपर्छ । दमन र शोषणले गर्दा आउने दिनमा विद्रोह हुने सम्भावना छ । सिके राउतले हिजो स्वराज मधेशको बिगुल फुकेको थियो । त्यो सही कुरा हो । मधेश आज नभए भोलि अलग हुन्छ । म रहूँ या नरहूँ । मधेशको अर्को पिँढीले यो काम गर्छ ।’



उज्यालो खबर




