×

काभ्रेपलाञ्चोक । वर्षासँगै आएको पहिरोले दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनाको टर्बाइनमा क्षति पुर्याएको छ ।

६३५ किलोवाटको उक्त जलविद्युत परियोजनाको भवनको एक भाग पहिरोले पुरिँदा टर्बाइनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए । ‘उर्लेनी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ, थप के–केमा क्षति भयो भन्ने त्यसपछि थाहा हुन्छ’ महतोले भने ।

खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाले स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।खिम्ती १ जलविद्युत केन्द्रले आयोजना प्रभावित दोलखा र रामेछापका वासिन्दालाई विद्युतीकरण गर्नका लागि ६३५ किलोवाटको झाँक्रे जलविद्युत परियोजना निर्माण गरेको थियो ।

सो परियोजनाको पावर प्लान्टमा समस्या आएपछि गत फागुनदेखि नै उत्पादन बन्द थियो । उपकरणमा समस्या आएर विद्युत उत्पादन बन्द भएकै बेला पहिरोले समेत पावर प्लान्टमा क्षति पुर्याएको हो ।झाँक्रे खोला जलविद्युत् परियोजनाको विद्युत बन्द भएपछि केआरईसीले ४०० किलोवाटको हलुवा खोलाबाट उत्पादित बिजुली वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया