×

गैँडाकोट —गैँडाकोट नगरपालिका–३ मा सामान्य हावा वा सिमसिमे पानी परे मात्र पनि विद्युत लाइन ढोडिने र बारम्बार लाइन जाने समस्या भइरहेकाे छ। विद्युत लाइन बनजङ्गल भएर गएको र नजिकै रुखबिरुवा रहेकाले हावाले हाँगाहरू तारमा छुने र लाइन अवरुद्ध हुने समस्या भएको हो।

यो समस्या लामो समयदेखि भइरहे पनि समाधान नभएपछि वडा नं. ३ का अध्यक्ष तथा गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले यसबारे नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय, काठमाडौंमा पुगेर औपचारिक रूपमा निवेदन दर्ता गर्नुभएको छ।

यसअघि विद्युत कार्यालय कावासोतीले समस्या अध्ययन गरी स्टमेन्ट तयार गरेको थियो। सो विवरणलाई प्रादेशिक कार्यलय पोखरा मार्फत सिफारिस गरिएपछि तिवारीले काठमाडौं पुगेर थप पहल गर्नुभएको हो।

काठमाडौंमा तिवारीले नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक दिर्घाउ श्रेष्ठसँग भेट गरी समस्या बारे जानकारी गराउनु भएको छ।श्रेष्ठले समस्यालाई गम्भीर रूपमा लिँदै “आवश्यक अध्ययन गरेर चाँडै समाधानका लागि पहल गरिने” बताउनुभएको छ।

वडाध्यक्ष तिवारीले भन्नुभयो, “म जनताको सेवक हुँ। समस्या देख्दा चुप लागेर बस्न सक्दिन, समाधानका लागि जुनसुकै ठाउँ जानुपर्ने भए पनि जान्छु।”उहाँले बनजङ्गल क्षेत्रका नाङ्गा तार हटाएर कभर तार जडान गर्नुपर्ने, साथै रुखबिरुवाका हाँगाहरू हटाउने काम गर्न आग्रह गर्नुभएको छ।

स्थानीय बासिन्दाहरूले पनि विद्युत समस्या चाँडै समाधान हुने आशा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया