×

-देउराम सारु

नेपालको शिक्षा प्रणालीले निकै लामो इतिहास पार गरिसक्दा पनि अझै सम्म पनि आवधिक लिखित परीक्षालाई नै मूल आधार मानेर परीक्षाको नतिजा मार्फत मूल्याङ्ंकन गर्ने परिपाटी कायमै रहेको छ । समयको विकास क्रमसंगसंगै विद्यालय, क्याम्पस तथा विश्वविद्यालय तहको पाठ्यक्रम समय अनुकुल परिवर्तन हुँदै आइरहेको विद्यमान परिपेक्षमा मूल्याङ्कन प्रणालीलाई सैद्धान्तिक परीक्षामा मात्र सिमित नगरी प्रयोगात्मक परीक्षालाई पनि समेट्ने प्रयास गरेतापनि पाठ्यक्रमले निर्देश गरे अनुसारको प्रयोगात्मक परीक्षाले समेट्न खोजेको मर्म, भावना तथा उद्धेश्यलाई पुरा गर्न नसकेको तितो यथार्थलाई नकार्न सकिदैन । २१ औं सताब्दीमा आइपुग्दासम्म पनि एक बर्ष भरीमा विद्यार्थीले गरेका समग्र क्रियाकलाप, सिकाइ उपलब्धि तथा विद्यार्थी आचार परिवर्तनलाई आवधिक परीक्षाको आधारमा मूल्याङ्कन गर्नु आफैमा वस्तुगत र वैज्ञानिक छैन ।
सामान्यतया विद्यालय तहमा एक शैक्षिक शत्र भरीमा विभिन्न एकाइ परीक्षा, आवधिक त्रैमासिक तथा चौमासिक परीक्षाद्धारा विद्यार्थीको नतिजा मूल्याङ्कन गर्ने गरिन्छ । यस्तै आवधिक बार्षिक परीक्षाको आधारमा विद्यालयको नतिजा कस्तो रह्यो भनेर मूल्याङ्कन गर्ने चालचलन छ । वर्तमान अवस्थामा रहेको विद्यालयको नतिजा तथा परिणामलाई हेर्ने परिपाटी अनुसार विशेतः आधारभूत तह कक्षा ८(Basic Level Examination Class-8)  उत्तीर्ण परीक्षा, कक्षा १० को अन्त्यमा लिइने माध्यमिक तह उत्तीर्ण परीक्षा (Secondary Education Examination –SEE) , र कक्षा १२ उत्तीर्ण परीक्षाको रुपमा लिइने परीक्षा (School Leaving Certificate Examination-SLC) लाई लिएर कुन विद्यालयको नतिजा कस्तो रह्यो भनेर निकै चासोका रुपमा हेर्ने प्रचलन छ । स्नातक तह तथा स्नातकोत्तर तहको परीक्षाको नतिजालाई लिएर खासै चर्चा परिचर्चा र बहसको विषय बनाएको पाइदैन । नेपालको शैक्षिक गुणस्तरलाई नाप– तौल, लेखा –जोखा र मूल्याङ्कन गर्ने मुख्य परीक्षाहरुBLE, SEE / SLC  परीक्षालाई नै लिएको पाइन्छ । तर न त बाल विकास, न त अन्य कक्षा, स्नातक तह तथा स्नातकोत्तर तहका्े परीक्षाको नतिजालाई जनचासो र चर्चा परिचर्चा गर्ने गरिन्छ ।
मुख्यतः संस्थागत र सामुदायिक विद्यालयको नतिजालाई लिएर नतिजा प्रकाशनको समयमा सर्वसाधारण देखि लिएर शिक्षाविद सम्म शैक्षिक गुणस्तरका बारेमा चौतर्फी बहस, छलफल र टिकाटिप्णी हुने गर्दछ । तर तत् पश्चात कमजोर शैक्षिक उपलब्धिलाई उकास्ने र अभिवृिद्ध गर्ने विशेष योजना वनाएको विरलै पाइन्छ । जसमा संस्थागत भन्दा बहुसंख्यक सामुदायिक विद्यालयहरुमा न्यून नतिजा आउने गरेको तितो सत्यले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई आरोपित गर्ने गरिन्छ । सामुदायिक विद्यालयहरुमा पनि ग्रामीण क्षेत्रका विद्यालयहरुको नतिजा अझै खस्केको र कतिपय विद्यालयहरुका नतिजा त शून्य नै रहेको तितो यथार्थ छ नै । के त्यसो भए ग्रामीण विद्यालयहरुमा अध्यापन गर्ने शिक्षकहरु अयोग्य नै हुन त ? शिक्षककै कारण यी सवै शून्य नतिजा आएको हो ? वा अन्य थुप्रै कारण यसरी शून्य नतिजा आउँछ त ? पक्कै पनि शिक्षकका कारण मात्र कमजोर नतिजा आएको भन्ने दावा गर्न सकिन्छ ? शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक प्रयास, लगाव र समन्वयबाट मात्र शैक्षिक नतिजा प्राप्त हुने हो । त्यस कारण विद्यालयको शैक्षिक गुणस्तर तथा नतिजालाई धेरै पक्षहरुवाट प्रभाव पारीरहेको हुन्छ । यी विविध पक्षहरुलाई नजर अन्दाज गरेर कमजोर नतिजाको कारण शिक्षकलाई मात्र थोपारेर शैक्षिक गुणस्तर तथा विद्यालयको नतिजालाई सुधार गर्न सकिदैन ।
विशेषतः ग्रामीण क्षेत्रका विद्यालयमा किन नतिजा न्युन हुन्छ त ? यस मुद्दालाई चर्चा परिचर्चा तथा बहसको विषय बनाइ कसरी न्युन नतिजालाई बृद्धि गर्न सकिन्छ त भन्ने विषयमा समाधानका सम्भावित उपाय समेत खोजी गर्नु मनासिव नै देखिन्छ । तपसिलमा उल्लेखित पक्षहरु ग्रामीण क्षेत्रका विद्यालयहरुमा न्युन नतिजा आउनका मुख्य कारण हुन सक्दछन् ।

१. अभिभावकको शिक्षा र चेतनाको कमी- ग्रामीण क्षेत्रका अधिकांश अभिभावकहरुले शिक्षाको महत्व थाहा नपाउनु विद्यालयको पढाइप्रति चासो नराख्नु, आफ्ना बावुनानीहरुको शैक्षिक विकासको लागि आफ्नो उत्तरदायित्व पुरा नगर्नु, , साँझ विहान आफ्ना बावुनानीहरुले किताब पल्टाउछन् कि पल्टाउदैनन् , गृहकार्य गर्छन कि गर्देनन् , कस्ता साथीसंग संगत छ, राती कहाँ कहाँ पुग्छन, कतिपय भभिभावकलाई अत्तोपत्तो पनि हुँदैन । यो एउटा ग्रामीण विद्यालयमा कमजोर नतिजा आउनुको प्रमुख कारण हो ।

२. समुदायको सामाजिक संरचना र संस्कार- हाम्रो समाज बहूभाषिक, बहूधार्मिक, जाती र बहूसँस्कृतियुक्त छन् । समाजमा आ–आफ्नै किसिमका रहनसहन, चालचलन र सँस्कृति छ । कतिपय समाजमा पुजा, विवाह, व्रतवन्ध र चाडपर्वका कारण पनि विद्यार्थीहरु धेरै दिन सम्म विद्यालयमा अनुपस्थित हुनु, समुदायमा रहेका युवाक्लबहरुले रोल क्रम र पालैसंग विभिन्न खेल प्रतियोगिता गर्ने र खेलाडी विद्यार्थीहरु हरेक खेल प्रतियोगितामा खेल खेल्न मै व्यस्त हुनु , अन्य साथीहरु दर्शक वन्न जाने चलन ग्रामीण भेकका प्रायजसो समुदायमा छ । समुदायमा रहेका यस्ता खालका चालचलन र सँस्कृतिले पनि शैक्षिक प्रगतिमा बाधा पारीरहेका छन् ।

३. विद्यार्थीको कमजोर उपस्थिति-  शिक्षाको महत्व प्रति अर्धज्ञानका कारण विद्यार्थीको उपस्थितीलाई खासै चासो नराख्नु, शुक्रकार विद्यालय नगए पनि हुन्छ भन्ने अधिकांश अभिभावक तथा विद्यार्थीको वुझाई, लामो समय पछि विद्यालय खुल्दा पनि पहिलो दिन विद्यालयमा विद्यार्थी नपठाए पनि हुन्छ भन्ने कतिपय अभिभावकहरुका पुरानो सोच पनि कायमै छ । खेतीबाली पनि लगाउनै पर्यो, काम नगरेर खाना कसले दिन्छ र ? भन्ने अधिकांश अभिभावकको वुझाई, विद्यालयमा आएका बालबालिकालाई घरको काम सघाउन आधा दिन पढेर वोलाउने चलन कहि कतै जिवितै छ । जसका कारण विद्यार्थीको कक्षा कोठामा उपस्थिती न्युन हुँदा अपेक्षित नतिजा प्राप्त हुन सिकरहेको छैन ।

४. भौगोलिक अप्ठ्यारो र विकटता-  ग्रामिण भेकमा बालबाकिाहरुलाई विद्यालय आउन जान भौगोलिक विकटताका कारण असहज र असुविधायुक्त छ नै । कतिपय स्थानमा अझै पनि विद्यार्थीहरु लामो दुरी पैदल यात्रा गरेर विद्यालय जानु पर्ने बाध्यताका कारण विद्यालय आइपुग्दा विद्यार्थी थकित हुने, घर फर्केपछि पनि थकाइका कारण स्वाअध्ययन र गृहकार्य राम्रो संग गर्न नक्नु, खोला नाला, बाढी पहिरोका कारण पनि विद्यार्थीहरु समयमा नियमित उपस्थित हुन नसक्ने कतिपय विद्यालयको अवस्था रहेको हुँदा राम्रो नतिजा प्राप्त भइरहेका छैनन् ।

५. अनुशासन र नैतिक शिक्षाको कमी-  पहिलेका र अहिलेका विद्यार्थीहरुमा धेरै फरक र भिन्नता पाइन्छ । अहिलेका समय फरक भएर पनि हेला हिजो आजका धेरै जसो विद्यार्थीहरुमा न त कसै संग डर त्रास, न त अभिभावक संग मान्छन, न त पढाउने शिक्षकहरु संग नै । घर बालबालिकाको पहिलो पाठशाला भन्ने गरिन्छ र हो पनि । किन की बालबालिकाहरु विद्यालय आउनु भन्दा धेरै कुराहरु घरबाट सिकीसकेका हुन्छन् । बालबालिकाहरुले अनुशासन र संस्कार घरबाट नै सिक्दछन् । तर यसको ज्ञान धेरै अभिभावकहरुमा कमी देखिन्छ । आफ्नै बुवा आमा र अभिभावक संग नै अधिकांश बालबालिका टेर्दैनन् र भनेको पनि मान्दैनन् । कहिलेकांही अभिभावकहरु मेरो छोरा÷छोरीलाई तह लगाइदिनु पर्यो, भनेकै मान्दैनन् भन्न आउने पनि हुन्छन् । यस सन्दर्भमा पछिल्ला समय आएको बाल मैत्री शिक्षाको प्रभाव पनि देखिन्छ ।

६. शैक्षिक पूर्वाधारको अभाव-  ग्रामिण क्षेत्रका अधिकांश विद्यालयकरुमा पर्याप्त शैक्षि पुर्वाधार छैनन् । शिक्षण क्रिया कलापका लागि आवश्यक भौतिक संरचनाको अभाव सुविधा सम्पन्न भवन, डेस्क वेन्च,कक्षा कोठा, खेल मैदान, शिक्षण सामग्री आदीको अभावका कारण तल्लो कक्षावाट जुन सिकाइ उपलब्धि हाँसिल गर्दै आउनु पर्ने हो त्यो हुन सकेको अवस्था छैन । जुन तहको सिकाइ उपलब्धि बालबालिकाहरुले साना कक्षा देखि नै प्राप्त गर्दै आउनु पर्ने हो त्यस स्तरको सिकाइ उपलब्धि प्राप्त नगरीकनै कक्षा चढाउदै लाने प्रवृती र त्यसको नतिजा एकैचोटी BLE, SEE, SLC  मा चासोकारुपमा हेर्दा नदेखिनु अस्भावकि होइन । तर यसको जग कस्तो वसाल्यौं भन्ने कुरा विर्सिदा BLE, SEE, SLC का लागि कक्षा लिने शिक्षकहरु दोसी वन्नु पर्ने अवस्था छ ।]

७. अनुगमन, निरीक्षण र अभिभावकीय निगरानीको कमी- त्यसै त ग्रामिण भेकका अभिभावकहरु अधिकांश अशिक्षित, शिक्षाको महत्व नवुझ्ने, विद्यालयको अवस्था कस्तो छ ? शिक्षकहरुवाट आफ्ना जिम्मेवारी, कर्तव्य, जवाफदेहिता र उत्तरदायित्व पुरा गरेका छन की छैनन् भन्ने वारेमा चासो राख्दैनन् । त्यसैमा वि.व्य.स.र शि.अ.संघवाट खासै अनुगमन, निरीक्षण तथा सल्लाह सुझाव दिने गरेको पाइदैन । विद्यालय निरीक्षकवाट विद्यालय अनुगमन, निरीक्षण र सल्लाह सुझाव दिने अभ्यास विरलै छ भने अधिकांश ठाउमा सुन्य नै छ । सम्वन्धित निकायवाट अनुगमन, निरीक्षण तथा सल्लाह सुझाव हुन नसक्दा पनि बालबालिकाहरुमा अपेक्षित सिकाई उपलब्धिमा ईट्टा थप्ने हुन सकेको छैन ।

८. शिक्षक अभाव र प्रविधिमैत्री ज्ञानको कमी-  शिक्षक दरवन्दी यसै पनि देशै भरीका विद्यालयहरुमा अपुग नै छ । यसमा पनि विद्यार्थीसंख्या कमीका कारण ग्रामिण क्षेत्रका विद्यालयहरुमा शिक्षक दरवन्दी कम छन नै । जसका कारण दुइ वटा कक्षाका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर वहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यात्मक परिस्थिती पनि छन । कतिपय शिक्षकहरु लामो समयदेखि अध्यापन गर्दै आइरहनु भएका र २०-२५ बर्ष अगाडीकै शिक्षण विधिमा निर्भर रहेर अध्यापन गराइरहनु भएका पनि छन् । समय र परिवेश अनुकुल पाठ्यक्रम पविर्तन भइरहने तर नयाँ पाठ्यक्रम , शिक्षण विधी र सिकाइ सहजिकरण क्रियाकलापवारे शिक्षकहरु जानकार नहुनु र सम्वन्धित निकायले तालिम दिन नसक्ने ठुलै चुनौती शिक्षा क्षेत्रमा छ । यो २१ औ सताब्दीको क्ष्ऋत् को जमानामा पनि कतिपय शिक्षकहरुमा क्ष्ऋत् को ज्ञान नहुनु, शिक्षक नविनतम प्रविधि संग परिचित र अपडेट हुन नसनु पनि न्युन नतिजाको प्रमुख कारण हो ।

९. कर्तव्यबोध, उत्तरदायित्व र इमान्दारिताको अभाव- जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्नका लागि जवाफदेहिता, उत्तरदायित्व वहन, कर्तव्य वोध र इमान्दारीताको आवश्यक पर्दछ । तर सत्य तितो हुन्छ भने झै कतिपय शिक्षकहरुमा यी कुराहरुको कमी देखिन्छ । एक शिक्षकले गर्नुपर्ने धेरै कर्तव्य, जिममेवारी र उत्तरदायित्वहरु छन । शिक्षक इमान्दार भएनन् भने आफुमा भएको अथाह ज्ञान सिप र कला निरर्थक वन्न जान्छ ।“जग बलियो भयो भने घर बलियो बन्छ” भन्ने उखान वुढापाकाले त्यसै वनाएका होइनन् । यो भनाइ वैज्ञानिक छ । शिक्षण सिकाइ कार्यमा झन यो भनाइ उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छ । विद्यार्थीिहरुका शुरुवाती कक्षा देखि सिकाइ स्तर कस्तो छ ? जान्नु पर्ने आधारभुत कुराहरु जानेर मात्रै कक्षा चढाइएको छ कि, एक शैक्षिक शत्र पुरा भएपछि कक्षा चढाउदै लगिएको छ ? गम्भिर चासो र चिन्तन गर्नु जरुरी छ ।

विद्यार्थी उपस्थिती, सिकाइ स्तर, अभिवाकको जनचासो, अनुगमन तथा निरीक्षण गर्ने प्रवृतीलाई विशेष ख्याल गर्नुपर्ने र महत्व दिनुपर्ने आवश्यक्ता छ । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षिय सहकार्य, शिक्षकलाई जवाफदेहिता, कर्तव्यनिष्ठ र उत्तरदायी गराउदै दण्ड र पुरस्कारको व्यवस्था हुनु पर्दछ । सरोकारवाला पक्षहरुवाट अनुगमन, निरीक्षण तथा निरन्तर पृष्ठपोषण दिंदै प्रधानाध्यापकलाई विषेश अधिकार सहित जिममेवार वनाउदै जानुपर्ने आवश्यक्तता देखिन्छ । शिक्षणसिकाई क्रियाकलाप र मूल्यांकन प्रणालीलाई वैज्ञानिक र मापनिय वनाउदै लानुको साथै माथी वुंदागत रुपमा उल्लेखित कमीकमजोरीहरुलाई सुधार गरेर मात्र ग्रामिण क्षेत्रका विद्यालयहरुमा देखिएको कमजोर नतिजालाई सपार्न सकिएला ।

लेखक सारु श्री आदर्श शिक्षा माध्यमिक विद्यालय तनहुँमा प्रधानाध्याककाे रुपमा कार्यरत हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया