नवलपुर — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दुम्कीबासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार कालोपत्रे लगायतका सबै काम सम्पन्न भएसँगै अब असार १९ गते (भोलि) बिहान ११ बजेदेखि पुलमार्ग हुँदै सवारी साधन सञ्चालन गरिनेछ ।
पाँच दशक पुरानो फलामे पुल गत पुस २६ गते एक भारतीय ट्रकले भत्काएपछि यहाँ अस्थायी डाइभर्सनमार्फत जोखिमपूर्ण ढंगले सवारी चलाइँदै आएको थियो ।
खोलामा पानीको बहाव बढेपछि डाइभर्सन पटक–पटक बगाउँदा पूर्व–पश्चिम राजमार्गमै सवारी जाम हुने, यात्रु घण्टौँ अलपत्र पर्ने, र साना सवारीले वैकल्पिक घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार २४५ मिटर लामो र ७.५ मिटर चौडाइको पुलमा पैदलयात्रुका लागि फुटपाथसमेत निर्माण गरिएको छ ।
“भोलिदेखि नयाँ पुलमार्गबाट सवारी सञ्चालन भएपछि यात्रुहरूलाई सहज हुनेछ, बर्खामा हुने समस्या हट्नेछ,” सूचना अधिकारी खनालले बताए ।
आयोजनाले दाउन्ने क्षेत्रमा समेत सडक विस्तारका कामलाई तीव्रता दिइएको र बर्खायाममा सवारी सञ्चालनमा सहजता ल्याउनेतर्फ प्रयास भइरहेक जनाएको छ ।



उज्यालो खबर




