गैँडाकाेट- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकाेट नगर समिति द्वारा पार्टी सभापति रवि लामिछानेमाथि गरिएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध बुधबार आयोजना गरिएको हस्ताक्षर संकलन अभियानमा करिब १,५०० जनाले हस्ताक्षर गरेका छन्।
नगर कमिटीको पार्टी कार्यालयअगाडि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको हस्ताक्षर अभियानमा १,४८८ जनाले हस्ताक्षर गरेको नगर सभापति ई. विमल घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार सो अभियानमा रास्वपाका समर्थक मात्र होइन, अन्य दलका कार्यकर्ता र सर्वसाधारणसमेत सहभागी भएका थिए।
“राजमार्ग भएर यात्रा गरिरहेका यात्रुहरू पनि गाडीबाट झरेर हस्ताक्षर गर्न आएका थिए,” सभापति घिमिरेले भन्नुभयो, “हाम्रो सभापतिमाथि अन्यायपूर्ण र राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै सबैले यसको विरोधमा हस्ताक्षर गर्दै न्याय मर्न नदिन सबै नागरिक एकजुट हुनुपर्ने आवाज उठाएका छन्।”
रास्वपाले केन्द्रबाट आह्वान गरेको अभियानअनुसार गैँडाकोटमा पनि कार्यक्रम गरिएको हो। अब यो अभियानलाई वडा स्तरसम्म विस्तार गरिने रास्वपा गैँडाकोटले जनाएको छ।
उक्त हस्ताक्षर अभियानले नागरिक स्तरमा रवि लामिछानेमाथिको मुद्दा र व्यवहारप्रति गहिरो चासो र असन्तोष रहेको सन्देश दिएको रास्वपाले जनाएको छ। पार्टीले न्याय र समान व्यवहारको माग गर्दै आगामी दिनमा पनि यस्ता जनदबाबमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।




उज्यालो खबर

