नवलपुर — पोखरा विश्वविद्यालयअन्तर्गत सञ्चालित एमएसइ इन स्ट्रक्चरल इन्जिनियरिङ कार्यक्रमको पहिलो सेमेस्टरमा अक्सफोर्ड कलेजका विद्यार्थी संजित पौडेलले पोखरा विश्वविद्यालय टप गर्नुभएको छ। उहाँले ३.९३ जीपीए हासिल गर्नुभएको हो।
गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रम अन्तर्गत सञ्चालित पहिलो शैक्षिक सत्रको परीक्षा गत चैत्रमा सम्पन्न भएको थियो भने परीक्षाफल हालै सार्वजनिक गरिएको हो। अक्सफोर्ड कलेजबाट एमएसइ इन स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी संजित पौडेल विश्वविद्यालयमा नै सर्वाधिक अंक ल्याएर प्रथम हुनु गौरवको विषय भएको कलेजले जनाएको छ।
सुदृढ शैक्षिक वातावरण, दक्ष प्राध्यापक टोली र निरन्तरको मेहनतकै परिणाम हो यो उपलब्धि, संजितले भन्नुभयो, नेपालमै स्ट्रक्चरल इन्जिनियरिङमा अध्ययन र कार्य गर्ने ठूलो सम्भावना छ, अब म त्यो सम्भावनालाई व्यवहारमा उतार्न चाहन्छु।
अक्सफोर्ड कलेजका प्राचार्य इन्जिनियर हरि भण्डारीले संजितको उपलब्धिलाई सम्पूर्ण कलेजको सफलता भएको बताउनुभयो। हामीले गत वर्षदेखि यो कार्यक्रम सुरु गरेका थियौं। पहिलो ब्याचमै यस्तो उत्कृष्ट परिणाम आउनु कलेजको शिक्षण स्तरको प्रमाण हो, उहाँले भन्नुभयो।
उक्त दुईवर्षे स्नातकोत्तर तहको एमएसइ इन स्ट्रक्चरल इन्जिनियरिङ कार्यक्रममा सिभिल इन्जिनियरिङ ब्याचलर उत्तीर्ण गरेका विद्यार्थीहरू सहभागी हुन सक्छन्। चारवटा सेमेस्टरमा सम्पन्न हुने यस कार्यक्रमले नेपालमा स्ट्रक्चरल इन्जिनियरिङको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ।कलेजले आगामी सेमेस्टरहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएको छ।



उज्यालो खबर




